अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:५० | Colorodo: 05:05

दशैँकाे टीका : महत्व, गरिमा र महिमा

बिआरटीनेपाल २०७८ असोज २८ गते ५:२६ मा प्रकाशित

यो देशमा, बडा दशैँको टीका कति महत्वपूर्ण,मुलुकभर लाखौंलाख मानिसले एकैसाथ शुभसाइतमा टीका लगाएका छन्। आफूप्रति सदा भलो चिताउने भलाद्मी बडाजन,मान्यवरका हातबाट टीका लगाएका छन् । दर्शन र भेटघाट गरेका छन्। मान्यताको मूर्ति साक्षात छ । देश एकै चोटि जागेको छ । एउटै कर्ममा अखिलको हात ।

कोही बाआमाको हातबाट टीका लगाउन गाउँघर गएका छन् । कोही देशपरदेशबाट फर्केका छन् । कर्मथलोबाट आमाबा बस्ने घरमा आएका छन् । आशीर्वादका लागि टकिा पर्खेर बसेका छन् । कोही देशका राष्ट्रपति, प्रधानमन्त्री, पूर्वराजाको हातबाट टीका लगाउन लामबद्ध छन् । एक चिम्टी टीकाको कत्रो महत्व, चारगेडा अक्षताको कत्रो गरिमा, कस्तो महिमा ।

टीका लगाउँदा अधिकाधिक देशवासी एकैसाथ जागेका छन्,एकै मुहूर्तमा साइत छोपेका छन् । एकै दिनको एकै घडीमा मुलुकवासी जुरुक्क उठेका छन् । एउटै कर्ममा करोडौं हात जुटेका छन् । यो टीकाले राष्ट्र ब्युँझाइरहेको छ । राष्ट्रिय एकता बढाइरहेको छ । त्यस्तो कुन कार्य होला जसलाई मुलुकका सर्वाधिक मानिस एकैसाथ गरुन्,एकै दरले जुटून्, एकै समयमा हात जोडून्,सँगै रमाऊन् त्यो यही टीका हो । जब बडादशैँको टीका लगाउने शुभसाइतको तोप टुँडिखेलमा पड्कियो तब देशैभर निधारमा टीका लगाउने हात उठे । भाग्यभालमा अक्षयी आशीर्वादका अक्षता बसे । आशिषका मन्त्र गुञ्जिए…गोवाजिहस्तिसहिम् धनधान्यरस्तु भन्दै..आयुद्रोण सुते श्रीयम् दशरथे…..भनेर नरका निधार भरिए । ओं जयन्ती मंगलाकाली भद्रकाली कपालिनी….भनेर नारीका माथमा सौभाग्य सजिए । जमरा धरिए ।

टीका लगाएपछि सबै रसिला,सबै उजेला,सबै हसिला । विगतका विवाद बिर्सेर झगडिया पनि आशीर्वादका लागि झुकेका छन् । दोषीकैदी पनि फुकेका छन् । मान्यजनकहाँ पुगेका छन् । निधारभरि टीका लगाएर छरमिेकका घरदैलामा डुलेका छन् । हर्षमिलनका बात गरेका छन् ।

मुलुकमा कोही यसरी टीका लगाई रमेका बेला कोही भने टीका लगाउन नपाएर रोएका छन् । विभिन्न कारणले टीका रोकिंदा रुनेको मन पनि टीकाले स्पर्श गरेको छ । अरुको निधार भरिपूर्ण भएका बेला आफ्नो निधार खाली रहँदा भित्रभित्र छोएको छ,मन खिन्न भएको छ । घुक्क होला जस्तो भएको छ । यो भक्कानो कसरी रोकूँ जस्तो भउको छ । बगिआउने आँशु कसरी लकाऊँ भएको छ । आँखा छोपे पनि आँशु लुकउने कसरी, अन्तरको आर्तनाद आइहाल्छ । आशु बनेर बगिरहन्छ । पुछेर नसकिने गरी अश्रुधारा झरिरहेछ ।

कर्मथलोमा बिदा नमिल्दा कसैको घरमा वर्ष दिनमा आउने दशैँको टीका छुट्यो । विददेशमै अलपत्र हुँदा कसैको लाउनेखाने बेलाको टीका छुट्यो । काम गरेको ठाममा खर्चपर्च नपाउँदा हाड घोटेर गरिखाने दशैँखर्च लिएर आउन नपाउँदा टीका छुट्यो । लडाईका बीचमा भिडिरहनुपर्दा कसैको टीका छुट्यो । कसैको घरमा मरघट हुँदा दशैँको टीका रोकियो । वर्षामा आएको बाढीले सरसन्तान बगाउँदाको वियोगले दशैँ रित्तो भो । परिवारका सदस्य दुर्घटनामा परेर अस्पताल बसिरहनुपर्दा यसपालिको दशैँ कसैका लागि यस्तै भो । अरुले टीका लाउँदा शहीद परिवारमा फोटो हेरेर रोइरहनुपर्ने ,उसकै फोटोलाई टीका लगाइदिँदा हात धरधराएर आशुका बलिन्द्र धारा बगाई वर्षेनि टीका लगाउने पर्ने पीडा भो । लगाउँदा पनि रुवाउने,नलगाउँदा पनि रुवाउने यो कस्तो टीका । कति मर्मस्पर्शी टीका ।

टीकाका दिन कोही टुप्लुक्क आइपुग्यो कस्तो खुशियाली । अनेक उपाय गर्दा पनि टीकाका दिन घर पुग्छु भन्दा पनि टीकाको भोलिपल्ट मात्र घर पुग्नुपर्दा कस्तो खल्लो कस्तो थक्क,कस्तो बिरसिलो लगनपछिको पोते जस्तो । दशैँको टीका जस्तो यति आत्मीय नाताले टासिएको वस्तु शायद अरु केही होला । वस्तुवादीहरु यसलाई मात्र एक चिम्टी चामल भन्लान् पुरानो चलन भन्लान्, परम्पराप्रतिको लगाव भन्लान्, अभ्यस्त व्यवहार भन्लान् । तर टीकाको महत्व यत्ति हो भने यो यति सारो टल्कने थिएन । यसको टलक त तारा समान छ । जाज्ज्वल्यमान ज्योति समान छ । एकै टीकाले जीवन जोडिन्छ । नाता गाँसिन्छ । अर्थ फेरिन्छ । विजयको घोषणा गरिन्छ । टीका लगाउँदा एउटा अर्थ छ ,टीका पुछिदा अर्कै अर्थ छ । टीकासँग यहाँ गहिरो सम्बन्ध छ ।

रातो वस्त्र र रातै टीका लगाई शक्तिसाधना गर्ने र विजय, तेज, जागृति संकेत गर्ने दशैँको टीका रातोे रहँदै आएको छ । कतै भने प्राकृतिक रुपकै दही अक्षताको सेतो टकिा लगाउने चलन छ । दशैको टीका सम्बन्धमा विद्वानहरुले अनुसन्धानका फरक फरक मत र दृष्टि राखेको पाइन्छ । टीका निधार वा भालको भृकुटीमा लगाइन्छ । योग अनुसार तेस्रो नेत्र खुल्ने आज्ञाचक्रको बिन्दुमा लगाइन्छ । ईडा पिङगला र शुशुम्णाको संगममा लगाइन्छ । गंगा यमुना र सरस्वतीको त्रिवेणीमा लगाइन्छ । शरीरको अत्यन्तै संवेदनशील भागमा लगाइन्छ । शरीर र अध्यात्मको अन्तर्सम्पर्क हुने नाडीयोगमा लगाइन्छ । तेस्रो आँखा वा अक्षको स्थानमा नै अक्षता कौमार्य शक्तिको चिन्हमा लगाइन्छ । भृकुटीमा लगाइन्छ यो सप्तशरीरको महत् चक्रमा लगाइन्छ । यो तन्त्रको त्राटक बिन्दु पनि हो ।

टीका चिकित्सा विज्ञानले पनि चिन्न नसकेको चिन्मय स्थानको मध्यमा लगाइन्छ । विधाताले देख्ने भालमा लगाइन्छ । भगवानशिवले त्रिपुण्ड लगाउने स्थानमा टीका लगाइन्छ । शोभा सौन्दर्यको परिधान नभई निर्वाणको नेटामा पुर्याउने निधारमा लगाइन्छ । आफूप्रति सदा सद्भावना राख्ने अग्रजको आज्ञा मान्ने र अनुजलाई अचुक आज्ञा दिने आज्ञाचक्रको ऊर्जास्थलमा लगाइन्छ ।

आज्ञा असफल नहुने उचाइमा लगाइन्छ । टीकासँग अध्यात्मको नाता छ । कुण्डलिनी जागेर आज्ञाचक्र खुली शाश्वतको संकेत देख्ने चक्षुमा आधारित छ । योगमाया प्रकृतिदेवी दुर्गाले साधकलाई यो शिखरमा पुर्याई विजयी बनाएकोमा विजयउत्सवको अर्थ छ । आज्ञाचक्र खुलेपछि अपराजित भएको उचाइपूर्ण अर्थ छ । अपराजिताको आन्तिरिक उचाइमा पुगेर मुक्तिको मुहान भेटेको अर्थबोध गर्न ललाटमा विजयको रङमा टीका लगाएको अर्थ छ । देवीदीक्षान्तको अर्थ छ । जीवन ऊर्जाको पद्मपुष्प पल्वित भएको प्रसाद छ । अध्यात्मको पद्म नयन प्रकट भएको अर्थ छ । मूलको ऊर्जाधार उन्नत भई निधारमा आएर अक्षत रक्तकमलको आभा प्रकाशित भएको छ । दशैँको टीकाले यो टलक दिइरहेको छ ।

 –नारायण भण्डारी

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू