अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:२१ | Colorodo: 18:36

माओवादीले फेरि देशको नेतृत्व गर्ने अवस्था आउँछ – प्रचण्ड

बिआरटीनेपाल २०७८ भदौ ३० गते ७:४६ मा प्रकाशित

सत्तासाझेदार नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मुलुकमा माओवादीले पुनः नेतृत्व गर्ने अवस्था आउने बताउनुभएको छ । नेता पोष्टबहादुर बोगटीको स्मृतिमा बुधबार पार्टीले काठमाण्डौमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले माओवादी फेरि देशको नम्बर एक पार्टी बन्न सक्ने पनि दावी गर्नुभयो । पछिल्ला आन्दोलनले माओवादी पुनः शक्तिमा फर्किन सक्छ भन्ने देखाएको उहाँको भनाइ छ ।

आफूहरु इमान्दार भएर लाग्दा कसैले रोक्न नसक्ने उल्लेख गर्दै उहाँले संविधान र लोकतन्त्रको रक्षाका लागि गठबन्धनलाई निरन्तरता दिने बताउनुभयो । गठबन्धनलाई निरन्तरता दिँदा आगामी चुनावमा दुई तिहाई मत ल्याउने प्रचण्डको दावी थियो । संविधान संशोधनका लागि सडक संघर्षमा जानुपर्ने अवस्था आउन सक्ने पनि उहाँले बताउनुभयो ।

पार्टीले अहिलेसम्म हासिल गरेको उपलब्धि युद्ध वा सडक संघर्षकै प्रतिफल भएको उल्लेख गर्दै संविधान संशोधनका लागि पनि सडक संघर्षमा जानुपर्ने अवस्था आउनेतर्फ चिन्तनमनन् गर्न पनि पार्टीका नेता, कार्यकर्तालाई प्रचण्डले आब्हान गर्नुभएको छ । विकृत बुर्जुवा प्रणाली बदल्नका निम्ति पनि संविधान संशोधनका लागि सडक संघर्षमा जानुपर्ने अवस्था आउन सक्ने तर्क समेत गर्नु भयो ।

अध्यक्ष प्रचण्डले संविधान संशोधनका लागि सकेसम्म राजनीतिक दलहरुबीचको संवाद, सहमती र समझदारीमै जोड दिने पनि स्पष्ट पार्नु भयो । निर्वाचन प्रणाली, शासकीय स्वरुप र संघीयताका विषयमा संशोधन गरेर जाने बाटो संविधानले खुला गरेकाले आफूहरुले संविधान जारी गरेदेखि नै संविधान संशोधनको विषयलाई बढी जोड दिएर उठान गर्ने गरेको पनि उहाको भनाई छ ।

पार्टी बनाउनेभन्दा गुट बनाउने धन्दा पनि पार्टी भित्रै देखिने अवस्था आएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले त्यस्ता प्रवृतिको विरुद्ध जुधेर मात्रै नेता पोष्टबहादुर बोगटीहरुले देश र जनताको मुक्तिको निम्ति देखेका सपनालाई पूरा गर्न सकिने पनि बताउनु भयो । अध्यक्ष प्रचण्डले नेपाल राष्ट्र र नेपाली जनताको रुपान्तरणमा नेता बोगटीले खेलेको भूमिका सदा स्मरणीय रहिरहने पनि बताउनु भयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू