अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:२४ | Colorodo: 21:39

सन्नी सगरमाथा समाज, क्यालिफोर्नियाले चितवनको चेपाङ क्षेत्रमा पुगेर सहयोग

बिआरटीनेपाल २०७८ जेठ ३१ गते ७:५७ मा प्रकाशित

चितवनको राप्ती र कालिकाका चेपाङ बस्तीमा खाद्यान्न सहयोग
अमेरिकाको क्यालिफोर्नियामा रहेका नेपालीहरूको संस्था सन्नी सगरमाथा समाजले चितवनको चेपाङ बाहुल्य क्षेत्रमा पुगेर खाद्यान्न तथा आर्थिक सहयोग गरेको छ।

राप्ती नगरपालिका १३ स्थित तापाङ पुगेर उक्त संस्थाले सहयोग गरेको हो। कोरोना संक्रमणपछि जारी गरिएको लकडाउनका कारण रोजगारी गुमाउँदा उक्त समुदायमा अनिकाल सुरु भएको थियो।

संस्थाका संस्थापक अध्यक्ष ईश्वर सापकोटाले विपन्न समुदायमा अनिकाल सुरु भएको खबर पढेपछि सहयोग गरेको बताए। उनले उक्त वडाका २१० परिवारलाई सहयोग गरिएको जानकारी दिए।

संस्थाबाट १५० परिवारलाई चामल, दाल, तेललगायतका खाद्यान्न र नगद २०० रुपैयाँ तथा ६० परिवारलाई नगद १ हजार रुपैयाँ सहयोग गरिएको सापकोटाले बताए। उनले लिएर गएको खाद्यान्नले अपुग भएपछि थप ६० परिवारलाई खाद्यान्न किन्न आर्थिक सहयोग गरिएको बताए। यो संस्थाले अमेरिकामा रहेका नेपालीहरूबाट सङ्कलित रकममार्फत नेपालमा कोरोना प्रभावितलाई सहयोग गर्दै आएको छ।

वडाध्यक्ष सूर्यबहादुर चेपाङले सरकारले सहयोग गर्न नसकेको बेलामा अनिकालमा परेको समुदायको सहयोगमा सञ्चारमाध्यमले उल्लेख्य भूमिका खेलेको बताए। उनले उक्त वडाका ६०० बढी परिवारलाई विभिन्न सामाजिक संस्थाहरूले सहयोग गरेको बताए। सहयोग सामग्री बोकेर विश्व केसी, अर्जुन तिमिल्सिना, राजेन्द्र तिमल्सिना, प्रदीप सापकोटालगायतको समूह उक्त गाउँ पुगेको थियो।

त्यस्तै कालिका नगरपालिकाको सैपामका चेपाङ समुदायलाई पनि खाद्यान्न सहयोग भएको छ । काठमाडौँमा रहेको ‘हाम्रो टिम नेपाल’ नामक सामाजिक संस्थाले सैपाम गाउँका ६७ परिवारलाई खाद्यान्न सहयोग गरेको हो। संस्थाका अध्यक्ष विमल पन्तले सबै परिवारलाई १ बोरा चामल र नुन सहयोग गरिएको बताए ।

पन्तले कोरोना संक्रमित र निषेधाज्ञा प्रभावितका लागि सहयोग अभियान देशभर सञ्चालन गरिएको बताए।  २०७२ सालमा भूकम्प पीडितको सहयोगका लागि स्थापना गरिएको यस संस्थाले संस्थाका सदस्य र दाताहरूबाट सङ्कलित रकमले विपद्को बेलामा सहयोग गर्ने गरेको उनले बताए।

उक्त संस्थाले काठमाडौँमा विपन्न वर्गलाई लक्षित गरेर ६५ रुपैयाँमा खाना उपलब्ध गराउँदै आएको थियो । सेतोपाटीबाट

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू