अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:३१ | Colorodo: 19:46

कोरोना सङ्क्रमण बढ्दै गएमा गाह्रो अवस्था आउन सक्ने सरकारको निष्कर्ष, देशव्यापी लकडाउन नगर्ने

बिआरटीनेपाल २०७८ वैशाख १२ गते ८:२२ मा प्रकाशित

सरकारले कोरोना भाइरसको महामारी यही रुपमा बढ्दै गएमा धेरै गाह्रो अवस्था आउने निष्कर्ष निकालेको छ । हिजो बसेको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र सीसीएमसीमा भएको छलफल र निर्णय बारे आज प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी महाधिवेशन आयोजक समितिका सदस्यलाई जानकारी गराउनुभएको हो ।

बैठकमा सहभागी एमाले नेता तथा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपालको स्वास्थ्य संरचनाले महामारीको अहिले सम्मको अवस्था धानेको तर समस्या बढ्दै गएमा गाह्रो पर्ने बताउनुभएको हो । अहिलेको स्थितिलाई धान्ने तर समस्या यही रुपमा अगाडि बढ्दै गयो भने अझ गाह्रो पनि पर्न सक्ने निष्कर्ष निस्किएको परराष्ट्रमन्त्री ज्ञवालीले बताउनुभयो । सीसीएमसीको बैठकमा पछिल्लो समय नेपालमा कोरोना भाइरसको डबल म्युटेट र ट्रिपल म्युटेट भाइरस पनि देखिएको र ती भाइरस असाध्यै छिटो फैलिने र सङ्क्रमित व्यक्तिलाई अक्सिजन आवश्यक पर्ने विषयमा छलफल भएको मन्त्री ज्ञवालीले बताउनुभयो ।

अक्सिजन प्लान्टहरुलाई पूर्णक्षमतामा विस्तार गर्ने, नयाँ सिलिण्डरहरु मगाउने, रेमडिसिभिर लगायत अरु औषधिहरुलाइ आयात गर्ने, खोपलाई विस्तार गर्ने बारेमा छलफल भएको पनि उहाँले बताउनुभयो । पत्रकारहरुसंग कुरा गर्दै उहाँले सरकारले तत्कालै देशव्यापी लकडाउन नगर्ने बताउनुभयो । व्यापक सङ्क्रमण देखिएका ठाउँमा भने क्षेत्रगत रुपमा लकडाउन गर्न सकिने उहाँको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू