अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:४३ | Colorodo: 19:58

“पार्टीमा एकताको सम्भावना क्षीण” – एमाले नेता नेपाल

बिआरटीनेपाल २०७८ वैशाख १० गते ८:१७ मा प्रकाशित

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीमा एकताको सम्भावना क्षीण हुँदै गएको बताउनुभएको छ ।धनुषामा एमालेको खनाल–नेपाल पक्षको जिल्ला कार्यसमितिले आयोजना गरेको पत्रकार सम्मेलनमा नेता नेपालले पार्टी अध्यक्ष केपी शर्मा ओलीकै दम्भका कारण एकता क्षीण हुँदै गएको आरोप समेत लगाउनुभयो । पार्टी गम्भीर सङ्कटको चरणबाट गुज्रिरहेको र सङ्कट निम्त्याउनमा पार्टी अध्यक्ष जिम्मेवार रहेको उहाँको आरोप छ ।

नेता नेपालले आफूले समाधानको बाटो अपनाउन आग्रह गरेको तर अध्यक्ष ओलीले एकता सुन्नै नचाहेकाले पार्टी, लोकतन्त्र, संविधान, सङ्घीयता, विधि र प्रक्रिया धरापमा परेको बताउनुभयो । उहाँले २७ जना प्रतिनिधिसभा सदस्यसँग माग गरिएको स्पष्टीकरण पनि औचित्यहीन रहेको बताउनुभयो ।

नेता नेपालले आफूहरु कुनै व्यक्ति विशेषको मुख हेरेर नभइ लोकतन्त्र र संविधानको मर्म तथा नागरिकको हित हेरेर आन्दोलनमा रहेको बताउनुभयो । पार्टीलाई एकताबद्ध बनाउन २०७५ जेठ २ गतेको अवस्थामा फर्कनुपर्ने र आफूले त्यही प्रस्ताव गर्दा अध्यक्ष ओलीले इन्कार गर्नुभएको नेता नेपालको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू