अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:५३ | Colorodo: 14:08

असहज परिस्थितिका बाजबुत २०७७ साल सफल वर्ष– प्रधानमन्त्री ओली

बिआरटीनेपाल २०७८ वैशाख १ गते ८:१५ मा प्रकाशित

प्रधानमन्त्री केपी शर्मा ओलीले अनेक असहज परिस्थितिका बाजबुत २०७७ साल सफल वर्षको रुपमा रहेको बताउनुभएको छ । नयाँ वर्ष २०७८ को अवसरमा आज राष्ट्रको नाममा सम्बोधन गर्दै उहाँले कोरोना महामारीले विश्वनै आक्रान्त भएको बेला त्यसको असर नेपालका सबै क्षेत्रमा परे पनि २०७७ सालमा ठूला दीर्घकालिन महत्वका काम भएको दाबी गर्नुभयो । प्रतिकुलताका बीच २०७७ सालमा असाधारण काम भएको र राजनीतिक, आर्थिक तथा सामाजिक क्षेत्रमा सफलताको बर्ष रहेको प्रधानमन्त्रीको भनाइ छ ।

दशकौं पछिको सफलता प्राप्त गर्दे मेलम्चीको पानी काठमाडौ आईपुगेको, अतिक्रमित भूमि फिर्ता, पूर्ननिर्माणका कामहरूले पूर्णता पाउने क्रम तिब्र गतिमा बढेको तथा नयाँ नयाँ असाधारण र दुरगामी महत्वका कामहरु बढेको पनि उहाँले उल्लेख गर्नुभयो । आफ्नो भूभाग समेत सामेल गरेर नयाँ नक्सा सार्वजनिक गरेको र यसले राष्ट्रिय गौरव बढाएको र सबैमा आत्मविश्वास बढाएको दाबी पनि प्रधानमन्त्रीले गर्नुभयो । सरकारले सातै प्रदेशमा ठूला, ठूला नयाँ औद्योगिक क्षेत्रको सिलन्यास गरेको र लगानीका लागि शान्तिपूर्ण र अनुकुल वातावरण बनेको उहाँले उल्लेख गर्नुभयो ।

प्रधानमन्त्री ओलीले जनतालाई आशा जगाउने गरी विकास निर्माणका कामहरु भईरहेको पनि बताउनुभएका छ । प्रतिदिन साढे ५ किलोमिटर बाटो बन्ने गरेको, प्रति १२ वटा आवास गृह निर्माण भईरहेको, पूर्वदेखि पश्चिम सम्म पुल बनाउने, करिडोर र लिंक रोड, मध्यपहाडी राजमार्ग पुष्पलाल, मदनभण्डारी राजमार्ग, पूर्वपश्चिम राजमार्गलगायत राजमार्गको स्तर उन्नति र निर्माणको कम भईरहेको पनि बताउनुभयो ।

उहाँले महिनाको १ सय बाट सुरु भएको सामाजिक सुरक्षा भत्ता दिनको १ सयमा पुगेको उल्लेख गर्दे आगामी आर्थिक वर्षदेखि लागू हुनेगरी सामाजिक सुरक्षा भत्तामा वृद्धि गर्ने जानकारी दिनुभयो । हवाई मैदान र त्रिभुवन विमानस्थल लगायतका विमानस्थलमा नयाँ पन ल्याईएको, विद्यालयहरु पुनर्निर्माण हुने क्रम बढेको भन्दै उहाँले कुनै पनि विकासको श्रेय लिने होडबाजीमा सरकार नलागेको बताउनुभयो ।

प्रधानमन्त्रीले एसिड आक्रमण विरूद्ध, बलात्कार र बलात्कार पछिको हत्या नियन्त्रण गर्नका लागि सरकारले अध्यादेश मार्फत कडा कानुन ल्याएको भएपनि संसदमा पेश गर्न नदिईएको गुनासो गर्नुभयो । २०७६ सालमा पृथकथावादी सोचसहित अघि बढेको समूहलाई राष्ट्रिय राजनीतिमा समाहित गराएको र २०७७ सालमा हिंसाको बाटो लिईरहेको समूहलाई शान्तिपूर्ण मूलधारमा फर्काउन सफल भएकाले मुलुकबाट हिंसाको राजनीतिको अन्त्य भएको प्रधानमन्त्रीले दाबी गर्नुभयो ।

प्रधानमन्त्री ओलीले कोरोना महामारीको जोखिम रहेकाले आवश्यक सावधानी अपनाउन आग्रह गर्नुभयो । सरकारले संसद सचिवालयमा टेबल गरेको एमसिसि प्रस्ताव छलफलका लागि संसदमा प्रस्तुत गर्नुपर्ने धारणा पनि राख्नुभयो । नेपाली काँग्रेस र नेकपा माआवादी सरकारमा हुँदा एमसिसिमा सम्झौता गरिएको उल्लेख गर्दै उहाँले सरकार सो प्रस्तावबारे संसदमा छलफल होस् भन्ने चाहेको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू