अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:१४ | Colorodo: 06:29

चीनको बेइजिङ सबैभन्दा धेरै अर्बपतिहरु भएको शहर

बिआरटीनेपाल २०७७ चैत २६ गते ८:०९ मा प्रकाशित

चीनको बेइजिङ संसारमै सबैभन्दा धेरै अर्बपतिहरू भएको शहर बनेको छ। फोर्ब्स म्यागजीनले नियमित प्रकाशित गर्ने अर्बपतिहरूको सूचीको नयाँ संस्करणमा बेइजिङ सबैभन्दा धेरै अर्बपतिहरू भएको शहर बनेको हो ।गत वर्ष ३३ जना अर्बपति थपिएपछि बेइजिङमा अर्बपतिको संख्या एक सय पुगेको छ। विगत सात वर्ष सबैभन्दा धेरै अर्बपति भएको शहर अमेरिकाको न्यूयोर्कमा ९९ जना अर्बपति छन्।

चीनले कोरोना भाइरसलाई छिटै नियन्त्रणमा लिएको, प्रविधि कम्पनीको सफलता र स्टक बजारका कारण न्यूयोर्कलाई पछाडि पार्न बेइजिङ सफल भएको हो।

धेरै धनाढ्य भए पनि अर्बपतिहरूको कुल सम्पत्तिमा न्यूयोर्क नै अगाडि छ। त्यहाँका अर्बपतिसँग बेइजिङका अर्बपतिभन्दा ८० अर्ब डलर बढी सम्पत्ति छ। बेइजिङका सबैभन्दा धनी टिकटकका संस्थापक ज्याङ यिमिङसँग ३५.६ अर्ब डलर सम्पत्ति छ। न्यूयोर्कका सबैभन्दा धनी व्यक्ति पूर्वनगरप्रमुख माइकल ब्लूमबर्गसँग ५९ अर्ब डलर सम्पत्ति छ।

अघिल्लो संस्करणको तुलनामा चीनमा यो संस्करणमा दुई सय १० अर्बपति थपिएका छन्।फोर्ब्सको सूचीमा अहिले अमेरिकाका सात सय २४ अर्बपति छन् भने चीनका ६ सय ९८ अर्बपति छन्। गत वर्ष संसारभरिबाट चार सय ९३ नयाँ अर्बपति थपिएका छन्। यसको अर्थ औसतमा प्रत्येक १७ घण्टामा एक अर्बपति थपिएका छन्।

भारतमा एक सय ४० अर्बपति छन् जसले भारतलाई तेस्रो स्थानमा उभ्याएको छ। संसारको सबैभन्दा धनी व्यक्तिका रूपमा एमजनका जेफ बेजोस छन्। गत वर्ष ६४ अर्ब सम्पत्ति बढेर उनको कुल सम्पत्ति एक खर्ब ७७ अर्ब डलर पुगेको छ।

 

प्रतिक्रिया