अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:२७ | Colorodo: 21:42

कोभिड १९ सङ्क्रमणको जोखिम बढेकाले सावधानी अपनाउन प्रधानमन्त्री ओलीको आग्रह

बिआरटीनेपाल २०७७ चैत २६ गते ७:५८ मा प्रकाशित

प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड १९ सङ्क्रमणको जोखिम बढेको भन्दै सावधानी अपनाउन आग्रह गर्नुभएको छ । पछिल्लो समय भारतमा कोभिड सङ्क्रमण दर बढ्दै गएको र खुला सीमानाका कारण नेपालमा पनि जोखिम बढेकोले सचेत बन्नुपर्ने उहाँको भनाइ थियो ।

नेपाल चेम्बर अफ कमर्सको ७० औं वार्षिक साधारणसभालाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अहिले नै सतर्कता नअपनाए लकडाउन गर्नुपर्ने स्थिति आउन सक्ने भएकाले सावधानीका उपाय अपनाउन आग्रह गर्नुभएको छ । भौतिक दुरी कायम गर्ने, मास्क लगाउने र साबुन पानीले हातमुख धुने लगायतका काम गर्दा कोभिड सङ्क्रमणबाट जोगिन सकिने उहाँले बताउनुभयो ।

कोभिड–१९ विरुद्धको खोपले पनि शतप्रतिशत काम नगर्ने भएकाले सावधानी अपनाउनु नै सबैभन्दा सुरक्षित विधि रहेको उहाँको भनाइ छ । फरक प्रसङ्गमा प्रधानमन्त्री ओलीले उद्योग व्यवासायलाई सरकारले दिने सेवामा एकद्वार प्रणाली लागु गरिएको बताउनुभयो । कर्मचारी तन्त्रमा हुने प्रक्रियागत झन्झटलाई पनि समाधान गर्दै सरलिकृत बनाउँदै लैजाने प्रतिबद्धता पनि प्रधानमन्त्रीको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू