अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:४१ | Colorodo: 23:56

राष्ट्रपति भण्डारी र बङ्गलादेशी प्रधानमन्त्री हसिनाबीच शिष्टाचार भेटवार्ता

बिआरटीनेपाल २०७७ चैत ९ गते ८:०२ मा प्रकाशित

राष्ट्रपति विद्यादेवी भण्डारीसँग बङ्गलादेशकी प्रधानमन्त्री शेख हसिनाले शिष्टाचार भेटवार्ता गर्नुभएको छ । सोमबार बङ्गलादेशको राजकीय भ्रमणमा जानुभएका राष्ट्रपति भण्डारीसँग प्रधानमन्त्री हसिनाले राजधानी ढाकामा रहेको होटेल कन्टिनेन्टलमा भेटवार्ता गर्नुभएको हो ।

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र बङ्गलादेशका लागि नेपाली राजदूत डा. वंशीधर मिश्र, बङ्गलादेशका विदेशमन्त्री डा. एके अब्दुल मोमेनसहित दुबै देशका उच्चस्तरीय प्रतिनिधि सहभागी भेटवार्तामा दुई देशबीचको आपसी सम्बन्ध, पारस्पारिक सहयोग र सहकार्यका विषयमा कुराकानी भएको छ ।

यसअघि विदेशमन्त्री डा. मोमेनले राष्ट्रपति भण्डारीसँग अलग्गै शिष्टाचार भेट गर्नुभएको थियो । बङ्गलादेशका राष्ट्रपिता शेख मुजिबुर रहमानको जन्मशताब्दीका अवसरमा आयोजित विशेष समारोहमा बङ्गलादेशी राष्ट्रपति मोहम्मद अब्दुल हमिदको मैत्रीपूर्ण निमन्त्रणामा राष्ट्रपति भण्डारी सोमवार बङ्गलादेश जानुभएको हो ।

नेपाल वायु सेवा निगमको विशेष विमानमार्फत ढाका उत्रनुभएका राष्ट्रपति भण्डारीलाई बङ्गलादेशका राष्ट्रपति हमिदले ढाकाको हजरत सहजलाल अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्नुभएको थियो । राष्ट्रपति भण्डारीले बङ्गलादेशी समकक्षी अब्दुल हमिदसँग द्विपक्षीय भेटवार्ता गरेसँगै दुई देशबीच पर्यटन, कृषि र संस्कृतिका क्षेत्रमा आपसी सम्झौता हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू