अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:०३ | Colorodo: 20:18

ओलीलाई हटाएर कार्यवाहक नेतृत्वसम्म लिने एमाले नेपाल समूहको तयारी

बिआरटीनेपाल २०७७ चैत ४ गते ८:११ मा प्रकाशित

नेकपा एमाले नेपाल समूहले राष्ट्रिय कार्यकर्ता भेलाबाट आउँदो तीन महिनाका लागि कार्यक्रम तय गर्ने भएको छ ।जसमा अध्यक्षबाट केपी ओलीलाई हटाएर कार्यवाहक नेतृत्व लिनेसम्म रहेको छ । नेपाल पक्षले कार्यकर्ता भेलामा वितरण गरेको दस्तावेजको १३ सूत्रीय कार्यनीतिमा यो विषय उल्लेख गरिएको छ ।

ललितपुरमा जारी राष्ट्रिय कार्यकर्ता भेलामा आफ्नो समूहको प्रतिवेदन पेश गर्दै नेता माधवकुमार नेपालले वर्तमान राजनीतिक अवस्थामा पार्टीलाई एकतावद्ध राखी ओलीको स्वेच्छाचारीताविरुद्ध संघर्ष गर्ने बताउनुभएको हो ।आफ्नो समूहको रणनीति तय गर्न सहभागीलाई दश समूहमा विभाजन गरेर छलफल चलाइएको छ भने ती समूहले आ–आफ्ना निष्कर्ष पेश गर्नेछन् । सबै सुझावलाई समेटेर तीन महिने एकीकृत रणनीति बनाइने भएको हो ।

सर्वोच्च अदालतले ओली–प्रचण्ड नेतृत्वको नेकपालाई मान्यता दिन नसकिने भन्दै नेकपा एमाले र नेकपा माओवादी केन्द्र ब्युँताइदिए पनि एमालेमा अध्यक्ष केपी ओली र नेता नेपाल पक्षबीचको विवाद सुल्झन सकेको छैन । अध्यक्ष एवं प्रधानमन्त्री ओलीले नेकपामा रहँदा भएको मतभेदलाई एमाले ब्युँतिसकेपछि नेपाल पक्षलाई कार्वाही गर्न गर्दा फेरि विवाद बढेको हो । यसै सन्दर्भमा आगामी दिनमा लिने रणनीति तय गर्न नेपाल पक्षले कार्यकर्ता भेला बोलाएको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू