अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:२३ | Colorodo: 19:38

माओवादी केन्द्र केन्द्रीय कमिटी बैठक – बादललगायतलाई कारवाही, पार्टीको नाम फेर्ने प्रस्ताव

बिआरटीनेपाल २०७७ चैत १ गते ८:१७ मा प्रकाशित

नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठकमा प्रधानमन्त्री केपी ओलीलाई सघाउन पुगेका रामबहादुर थापासहितका नेतालाई कारबाही गर्ने प्रस्ताव लगिएको छ । माओवादी केन्द्रको पार्टी कार्यालय कोटेश्वरमा बसेको बैठकमा पार्टीको नाम फेर्ने प्रस्ताव पनि पेश गरिएको छ । अदालतले माओवादी केन्द्र ब्यूँताइदिएपछि पहिलो पटक बसेको केन्द्रीय कमिटी बैठकमा पार्टी अनुशासनको कार्बाहीबारेको प्रस्ताव राखिएको हो ।

शनिबार बसेको स्थायी कमिटी बैठकले ओलीतिर लाग्ने गृहमन्त्री थापा, उद्योगमन्त्री लेखराज भट्ट, खानेपानी मन्त्री मणि थापा, सिंचाइ मन्त्री प्रभु साह, श्रम मन्त्री गौरीशंकर चौधरी र खेलकुद मन्त्री दावा लामालाई २४ घण्टे लिखित स्पष्टीकरण सोध्दै मन्त्रिपरिषदबाट फिर्ता हुन निर्देशन दिएको थियो ।

नेकपा एमाले र माओवादी केन्द्रबीच एकता भई नेपाल कम्युनिष्ट पार्टी (नेकपा) राखे पनि अर्कै पार्टीको नाम राखेको भन्दै सर्वोच्च अदालतले करिब तीन वर्षपछि उक्त नाम ओली–दाहाल अध्यक्ष रहेको दललाई दिन नमिल्ने भनि एमाले र माओवादी केन्द्रको एकतालाई नै शून्यमा पुर्याईदिएकोे थियो ।

आजको बैठकमा पार्टीको नाम फर्नेदेखि पार्टी एकतासम्मका विषयमा छलफल भएको बताइएको छ । नेकपा एमालेमा प्रधानमन्त्री केपी ओली माधव नेपाल पक्षका नेताहरुलाई कार्वाही गर्दै जिम्मेवारी खोसेपछि त्यहाँ फेरि विभाजन हुने अवस्था सृजना भएको छ । यस्तोमा नेपाल पक्षसँग एकताका लागि ढोका खोल्न पनि पार्टीको नाम फेर्न खोजिएको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू