स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमणबाट ज्यान गुमाएका व्यक्तिहरुको संख्या सच्याएको छ । मन्त्रालयले नेपाली सेनाले व्यवस्थापन गरेको शव सहितको मृतकको तथ्यांक थप गरेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार गरेको प्रेस ब्रिफिङ्मा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. कृष्ण प्रसाद पौडेलले संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ९ सय ३२ जना गरेको हो ।
नेपाली सेना र स्वास्थ्य मन्त्रालयको विवरण मिलाएर संख्या थप गरेपछि नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ हजार १० जना पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा ८७ जना संक्रमित थपिएका छन् । ३ हजार ३ सय ९९ जनाको पीसीआर परीक्षण गर्दा ८७ जनामा संक्रमण देखिएको हो ।
यो सँगै देशभर २ लाख ७४ हजार ३ सय ८१ जनामा संक्रमण देखिएको हो । यस्तै पछिल्लो २४ घण्टामा थप ६२ जनाले कोरोना संक्रमण जितेका छन् । देशभर २ लाख ७० हजार ६ सय ५ जनाले संक्रमण मुक्त भएका छन् । देशभर अहिले ७ सय ६६ जना संक्रिय संक्रमित छन् ।