अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:०६ | Colorodo: 19:21

“गुमेको भूभाग फिर्ता ल्याएरै छाडिन्छ” – प्रधानमन्त्री ओली

बिआरटीनेपाल २०७७ फागुन १० गते ६:५७ मा प्रकाशित

प्रधानमन्त्री केपी शर्मा ओलीले सुदूरपश्चिमको गुमेको भूभाग फिर्ता ल्याउनका लागि तथ्य र प्रमाणका आधारमा भारतसँग अनौपचारिक वार्ता भइरहेको बताउनुभएको छ । वेदकोट नगरपालिका–२, छेलामा दैजी छेला औद्योगिक क्षेत्रको आज अपराह्न शिलान्यास गर्दै उहाँले गुमेको नेपालको भूभाग फिर्ता ल्याएरै छाड्ने दृढता व्यक्त गर्नुभयो ।

दोधारा चाँदनी क्षेत्रमा भारतसँगको महाकाली सन्धिबमोजिम १० क्युसेक पानी नेपालले पाउनुपर्नेमा नपाएकामा अब प्राप्त गर्नका लागि भारतसँग वार्ता भइरहेको जानकारी दिँदै प्रधानमन्त्रीले ६ महिनाभित्र विस्तृत सर्भेको काम पूरा गरी नहर निर्माणको काम शुरु हुने बताउनुभयो । महाकाली सिंचाइ आयोजनाअन्तर्गत तेस्रो चरणको नहर निर्माण शुरु भइसकेको जनाउँदै प्रधानमन्त्रीले वर्षाैँदेखि सिंचाइ हुन नसकेका क्षेत्रमा सोको प्रबन्ध गरी कृषि उत्पादनमा बढोत्तरी गरिने बताउनुभयो ।

अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा दिलाउन लाग्ने दस्तुर घटाउन सरकारले पुनःविचार गर्ने जानकारी पनि प्रधानमन्त्रीले दिनुभयो । औद्योगिक क्षेत्रको निर्माणपछि रोजगारी प्राप्त हुने जनाउँदै प्रधानमन्त्रीले सीप विकास र तालीमबाट दक्ष जनशक्ति उत्पादन हुने र सुदूरपश्चिम क्षेत्र विकासको गतिमा अघि बढ्ने बताउनुभयो ।

सो अवसरमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट, वन तथा वातावरणमन्त्र प्रेमबहादुर आले, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गौरीशङ्कर चौधरी र सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री गणेशसिंह ठगुन्नाले वर्तमान सरकारको नेतृत्वमा सुदूरपश्चिमले विकासको काँचुली फेरिरहेको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू