अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:४२ | Colorodo: 23:57

“मैले जस्तो विकास र सुशासनका काम नेपालमा अरु कसैले गरेको छैन” – प्रधानमन्त्री ओली

बिआरटीनेपाल २०७७ फागुन १ गते ७:०० मा प्रकाशित

प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टीको ओली समूहका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पालामा जस्तो विकास र सुशासन नेपालमा अहिलेसम्म कसैले नगरेको जिकिर गर्नुभएको छ । बुटवलमा भएको आमसभामा ओलीले आफू प्रधानमन्त्री भएपछि गरेको भन्दै सयौँ कामको फेहरिस्त पनि सुनाउनुभयो । शिक्षा, स्वास्थ्य, विकास, सुशासन र सामाजिक काममा आफ्नो पालामा ऐतिहासिक तिव्रता आएको दावी गर्दै उहाँले तीन वर्षसम्म सरकारले गरेका काम देखेर विरोधीहरु तर्सिएको बताउनुभयो ।

ओलीले केहि नराम्रो आचरण भएका व्यक्ति बाहिरिएपछि पार्टी सही बाटोमा हिँड्न लागेको बताउनुभएको छ । ओलीले प्रचण्ड, माधव कुमार नेपाल लगायतका नेताहरुका कारण तीन वर्षसम्म पार्टी गतिशिल नभएको तर उनीहरु बाहिरिएपछि अहिले पार्टी गतिशिल भएको दाबी गर्नुभयो । प्रचण्ड–नेपाल समूहले नेकपालाई पार्टीको रुपमा नभई गुटको रुपमा चलाउन खोजेको र देश विकास गर्ने सरकारको उदेश्यमा भाँजो हाल्न खोज्दा समस्या आएको प्रधानमन्त्री ओलीको भनाई छ ।

अहिले पनि पार्टी नफुटेको र केहि अराजक तत्वहरु बाहिरिएको प्रधानमन्त्री ओलीले बताउनुभयो । संसद विघटन गर्ने आफ्नो कदमलाई केहि व्यक्तिले प्रतिगमन भन्ने गरेको भन्दै ओलीले चुनावमा जानु कसरी प्रतिगमन हो र जनताको बीचमा जान नहुने कस्तो व्यवस्था खोजेको हो भनेर प्रश्न गर्नुभएको छ । आफूले संसद विघटन नगरेको भए प्रचण्ड–नेपाल समूहले पहिले जस्तो सांसदहरु किनबेच गर्ने र अरु दलहरुसँग साँठगाँठ गर्ने फोहोरी खेलमार्फत देशलाई फेरी अस्थिरतामा धकेल्ने ओलीको जिकिर छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू