अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:१७ | Colorodo: 19:32

“राजनीतिक स्थायित्वमा प्रतिक्रान्तिकारी कित्ताबाट प्रहार” – प्रचण्ड

बिआरटीनेपाल २०७७ फागुन १ गते ७:०० मा प्रकाशित

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) आन्दोलरत पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मुलुकमा राजनीतिक स्थायित्व कायम गरी विकासतर्फ लैजाने ऐतिहासिक पहलकदमीमाथि प्रतिक्रान्तिकारी कित्ताबाट प्रहार गर्ने काम भएको बताउनुभएको छ । जनयुद्ध दिवसको अवसरमा पार्टी कार्यालय पेरिसडाँडामा आयोजित शहीद स्मृति तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सहिदहरुको रगतबाट प्राप्त उपलब्धीलाई दक्षिणपन्थी र प्रतिक्रान्तिकारी कित्ताबाट प्रहार गर्ने काम भएको बताउनुभएको हो ।

उहाँले संविधान र संघीय लोकतन्त्रलाई धरापमा पार्ने प्रयास गरिए चिहानबाट शहीदका कंकाल उठेर सरकार विरुद्ध लाग्ने चेतावनी दिनुभयो । उहाँले शहीदको बलिदानीलाई कुल्चने दुश्साहस नगर्न प्रधानमन्त्री केपी ओलीलाई चेतावनी नै दिनुभयो । सकारात्मक सामाजिक रुपान्तरणका निम्ति बलिदानी गरेका शहीदहरुलाई केही समय राज्यले दबाउने र सम्मान पनि नदिन सक्ने मार्क्स भन्ने गरेको स्मरण गर्दै उहाँले अन्तत नयाँ पिडीहरु शहीदको सम्मानका लागि सरकारलाई खबरदारी गरी सम्मान दिलाई छाड्ने बताउनुभयो ।

प्रचण्डले सबै जनयुद्ध र जनआन्दोलनका शहीदहरुलाई राष्ट्रिय शहीद घोषणा गर्ने निर्णयलाई कार्यान्वयनका लागि निरन्तर प्रयास गरिरहने प्रतिवद्धता समेत जनाउनुभएको छ । आफू पहिलो चोटी संघीय लोकतान्त्रिक गणतन्त्रको निर्वाचित प्रधानमन्त्री भएको बेला पहिलो मन्त्रिपरिषद् बैठकबाट जनयुद्ध र जनआन्दोलनका सबै शहीदलाई राष्ट्रिय शहीद घोषणा गर्ने निर्णय गरेपनि केही प्राविधिक कमजोरी भएकाले अहिलेसम्म सो निर्णयले औपचारिकता पाउन नसकेको उहाँले स्वीकार गर्नुभयो ।

कार्यक्रममा सबै शहीद र शहीदका परिवारको सम्मानको प्रतिकका रुपमा शहीदकी आमालाई सम्मान गरिएको थियो । जनयुद्ध दिवसको अवसरमा नेकपाले मुलुकभर नै शहीद र उनका परिवारको सम्मानमा कार्यक्रम गर्न आन्तरिक सर्कुलर जारी गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू