अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:२६ | Colorodo: 01:41

प्रधानमन्त्री ओलीविरुद्ध सर्वोच्चमा मानहानीको मुद्दा !

बिआरटीनेपाल २०७७ माघ ११ गते ६:३२ मा प्रकाशित

प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध सर्वोच्च अदालतमा मानहानीको मुद्दा पुगेको छ । प्रधानमन्त्रीले संवैधानिक इजलासमा बहस गरेका अधिवक्ताप्रति लक्षित गरी दिनुभएको अभिव्यक्तिले अदालतको मानहानी भएको भन्दै वरिष्ठ अधिवक्ता डा कुमार शर्मा आचार्य मानहानीको मुद्दा लिएर सर्वोच्च पुग्नुभएको हो ।

प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दा सर्वोच्च अदालतको संवैधानिक इजलासमा विचाराधीन रहेको अवस्थामा रिट निवेदकको तर्फबाट वरिष्ठतम् वरिष्ठ अधिवक्ता ९५ वर्षीय कृष्णप्रसाद भण्डारीले संवैधानिक इजलासमा बहस गरेको विषयमा प्रधानमन्त्रीले दिएको अभिव्यक्तिबाट अदालतको मानहानी भएको रिट निवेदक आचार्यले दाबी गर्नुभएको छ ।

राजधानीमा भएको एक कार्यक्रममा प्रधानमन्त्री ओलीले संवैधानिक बहसलाई लक्षित गर्दै ‘एकजना बाजे वकिललाई समेत लिएर गएछन् तमासा देखाउन’ भन्ने अभिव्यक्ति दिनुभएको थियो ।

प्रधानमन्त्रीले अदालतविरूद्ध निन्दायुक्त शब्द प्रयाेग गरेकाे भन्दै रिटमा भनिएकाे छ ‘अदालत र कानुन व्यवसायीलाई हास्यको पात्रका रुपमा प्रस्तुत गरेर नेपालको संविधानको धारा १२८ को उपधारा (४) बमोजिम अदालत र इजलासको अपहेलना गर्नुभएको छ । प्रधानमन्त्रीको पदमा आसिन खड्गप्रसाद शर्मा ओलीले प्रयोग गरेका शब्द, लवज र उहाँले प्रदर्शन गरेको व्यवहारले अदालत र इजलासको अपहेलना भएकाले उहाँलाई अपहेलनामा कारवाही गरी सजायसमेत गरी पाउन सादर अनुरोध गर्दछु ।’

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू