अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:३६ | Colorodo: 06:51

प्रचण्ड– नेपाल समूहले संसद् बिघटनविरुद्ध शुक्रबार काठमाडौंमा गर्ने विरोध सभाको तयारी पूरा

बिआरटीनेपाल २०७७ माघ ८ गते ६:३० मा प्रकाशित

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड नेपाल समूहले प्रतिनिधिसभा विघटनको विरुद्धमा शुक्रबार काठमाडौंमा गर्ने विरोध सभाको तयारी पूरा भएको जनाएको छ । बिहीबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडाँमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै केन्द्रीय संघर्ष समितिका सह–संयोजक तथा प्रवक्ता योगेश भट्टराईले शुक्रबार गरिने विरोध सभाको तयारी पूरा भएको जानकारी दिनुभयो ।

उहाँले पार्टीको स्थायी कमिटी सदस्यसहितका नेताहरुको नेतृत्वमा माइतिघर, डिल्लीबजार, लैनचौर, त्रिपुरेश्वर, कुपन्डोल, प्रदर्शनीमार्ग, त्रिचन्द्र कलेज, शान्तिबाटिका, वाल्मिकि क्याम्पस लगायतका स्थानबाट जुलुस निस्किने बताउनुभयो ।

मुख्य जुलुश पार्टी अध्यक्षद्धय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालको नेतृत्वमा रत्नपार्क, सुन्धारा, भद्रकाली, पुतलीसडक हुँदै भृकुटीमण्डपमा विरोध सभामा परिणत हुने नेता भट्टराईले जानकारी दिनुभयो । विरोधसभामा अध्यक्षद्धय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल लगायतका नेताहरुले सम्बोधन गर्ने उहाँले बताउनुभयो ।

सह– संयोजक भट्टराईले विरोध प्रदर्शन तथा सभा शान्तिपूर्ण हुने पनि जानकारी दिनुभएको छ । नेकपा प्रवक्ता तथा केन्द्रीय संघर्ष समितिका संयोजक नारायणकाजी श्रेष्ठले प्रतिनिधि सभा सुचारु नहुञ्जेलसम्म संघर्षको कार्यक्रम जारी रहने बताउनुभयो । संयोजक श्रेष्ठले संघर्षको कार्यक्रमले संवैधानिक अंगलाई संविधानले निर्दिष्ट गरेको भुमिका स्वतन्त्रतापूर्वक निर्वाह गर्नको निम्ति वातावरण निर्माण हुने दाबी गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू