अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:१३ | Colorodo: 02:28

नारी

स्पन्दन विनोद

स्पन्दन विनोद २०७६ फागुन २५ गते ९:३९ मा प्रकाशित

छन्द: शार्दूलविक्रीडित

सीता औ भृकुटी उदाहरण कति, दिन्छौ अनेकौँ थरी
के नारी कमजोर छिन् जगतमा, जाने उनै थिए सती
सेतो लाउन पर्छ बन्छ रमिता, लोग्ने मरेका घर
लोग्नेका तिर रीत छैन किन कुनै, स्वास्नी मरेका घर
।।१।।

हिंसा शोषण हुन्छ लोक भरमा, नारी बने शोषित
बर्षौ खर्च गरी कयौँ सदनमा, नारा भए घोषित
बाटा कष्ट र साँघुरा सफरका, काँडा भरेका खला
हत्या निर्मम भई निसाफ चुप छन्, लाखौँ मरे निर्मला
।।२।।

बोक्सी नै हुन अलच्छिनी हुन अरे, के नाम बाँकी भयो
जान्ने बुज्रुक बन्दछौ किन युवा, तिम्रो पढाई गयो
आमा मात्र कहाँ दिदी र बहिनी, छोरी सबै हैन र
नारीको तनमा म घुल्दछु सखा, नारी बिना के छ र
।।३।।

नारी संसद्मा पुगे विजय भई, मन्त्री भए जोतिए
नारीका अधिकार पाउन भनी, दुर्गा बनी जन्मिए
तिनकै काँध कसेर बन्दुक फुके, धब्बा लगाए कतै
गंगाझै जलमा पुरुष जनले, मातृत्व मारे यसै
।।४।।

सक्छौ मर्द समान बन्न भन लौ, सौता नहाली भन
राख्छौ आखिर छाउगोठ किन हो, तोडेर छाप्रो भन
पूजा होस् भगवान् सत्य रूपको, फाँडौँ तुवाँलो मिली
हिंसा लैङ्गिक बन्द गर्नु पहिले, कर्तव्य हो आखिरी
।।५।।

गर्दैछन् किन हो छुवाछुत सधैँ, सामन्तवादी युवा
स्वास्थ्य ख्याल गरौँ अझै रगतका, थोपा नचोपौ कुवा
तर्छन् सागर भेदभाव नभए, हिंसा नहोस् काममै
कसले देख्छ तुहाउने ती सपना, छोरी भए गर्वमै
।।६।।