अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:२९ | Colorodo: 15:44

‘शान्ति, स्थायित्व र विकासका लागि बिआरआई परियोजना महत्वपूर्ण’– प्रचण्ड

बिआरटीनेपाल २०७७ कार्तिक ४ गते ६:३६ मा प्रकाशित

पूर्व प्रधानमन्त्री एवं सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले शान्ति, स्थायित्व र विकासका लागि चीनले अघि सारेको बिआरआई परियोजना महत्वपूर्ण हुने बताउनुभएको छ ।मंगलबार चिनियाँ कम्युनिष्ट पार्टी अन्तर्राष्ट्रिय विभागले आयोजना गरेको भर्चुअल कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले शान्ति, स्थायित्व र विकासका लागि बेल्ट एण्ड रोड इनिसिएटिभ (बिआरआई) परियोजना महत्वपूर्ण हुने बताउनुभएको हो ।

बिआरआई परियोजनाबाट चीन र नेपाल दुवै देशले फाइदा लिन सक्ने भएकाले यसलाई आफूले महत्वपूर्ण अवसरको रुपमा लिएको समेत अध्यक्ष प्रचण्डले बताउनुभयो । गत वर्ष चिनियाँ राष्ट्रपति सिचिनफिङको नेपाल भ्रमणमा भएका सम्झौताले पनि दुई देशको भावनालाई समेटेको उहाँले बताउनुभयो ।

पूर्व प्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले बिआरआईले यस क्षेत्रको नवीनता, उत्पादकत्व र प्रगतिका लागि महत्वपूर्ण हुने बताउनुभयो । बीआरआई परियोजनाले दुई देशबीच वित्तीय एकीकरण र नीति समन्वयका लागि काम गर्ने विश्वास समेत व्यक्त गर्नुभयो । बिआरआईले नेपाललाई विश्वव्यापी मूल्य श्रृंखलामा पहुँच पुर्याउन सघाउ पुग्ने समेत पूर्व प्रधानमन्त्री भट्टराईले बताउनुभयो । बिआरआईका ९ वटा आयोजना अन्तर्गत ट्रान्स–हिमालयन कनेक्टिभिटीले नेपाली नागरिकलाई सबैभन्दा बढी आकर्षित गरेको समेत उहाँले बताउनुभयो । यसले नेपालको भूराजनीतिक परिवर्तनमा महत्वपूर्ण हुने उहाँको भनाइ छ ।

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नेपालले बेल्ट एण्ड रोड परियोजना अन्तर्गत छनोट गरेका ९ वटा आयोजनालाई छिट्टै अन्तिम रुप दिएर कार्यान्वयनमा जानुपर्ने बताउनुभयो । यस्तै नेपालले अघि सारेको ‘समृद्ध नेपाल सुखी नेपाली’ अभियानलाई सार्थक बनाउन समेत बिआरआई परियोजना महत्वपूर्ण हुने उहाँले बताउनुभयो ।

कार्यक्रममा चिनियाँ कम्युनिष्ट पार्टी अन्तर्राष्ट्रिय विभाग मन्त्री सोङ ताओ, चिनियाँ कम्युनिष्ट पार्टी तिब्तब कमिटीका सेक्रेटरी वु यिंगजी लगायतले सम्बोधन गर्नुभएको थियो । चिनियाँ राष्ट्रपति सिचिनफिङको नेपाल भ्रमणको वार्षिकोत्सवको अवसर पारेर चिनियाँ कम्युनिष्ट पार्टी अन्तर्राष्ट्रिय विभागले ‘चीन–नेपाल बेल्ट एन्ड रोड को–अपरेसनमा राजनीतिक दलहरुको प्रथम संयुक्त परामर्श सम्मेलन’ आयोजना गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू