अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:११ | Colorodo: 20:26

हेटौंडा–काठमाडौंको सडक दूरी ५४ किलोमिटर

बिआरटीनेपाल २०७७ कार्तिक ३ गते २०:०८ मा प्रकाशित

हेटौंडा, ४ कात्तिक । संघीय सरकारले राष्ट्रिय गौरवको आयोजनाका रूपमा निर्माण गरिरहेको काठमाडौं–निजगढ द्रूतमार्गसँग मकवानपुरको भीमफेदी गाउँपालिका–८ र इन्द्रसरोवार गाउँपालिका–३ को गेट दोभानमा जोड्ने तयारी थालिएको छ । यस योजनालाई सफल बनाउन सके हेटौंडा–काठमाडौंको सडक दूरी ५४ किलोमिटर मात्र हुने भन्दै प्रदेश सरकारले प्रस्ताव गरेअनुसार अध्ययन थालिएको छ । बाराको निजगढदेखि संघीय राजधानी काठमाडांै द्रँतमार्गसँग हेटौंडा–काठमाडौं मदन भण्डारी मार्गलाई जोड्नका लागि अध्ययन थालिएको हो । प्रदेशको प्रस्तावपछि नेपाल सरकारले कार्यदल नै बनाएर अध्ययन थालेको छ । सरकारका तर्फबाट एक दिनअघि मात्रै राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. पुष्पराज कँडेल र प्रधानमन्त्रीका विकासविज्ञ गजेन्द्र थपलियाले दुई मार्गलाई जोड्न सकिने सम्भावित बिन्दुको अवलोकन गर्नुभएको थियो ।

उपाध्यक्ष डा. कँडेलले द्रूतमार्गको प्रारम्भमा यसमार्गसँग जोडिने अन्य कुनै मार्गको परिकल्पना नगरिएकाले नयाँ परिस्थिति सिर्जना भएको बताउनुभयो । उहाँले द्रूतमार्ग अनुगमन समितिले द्रूतमार्ग निर्माणको क्रममा प्रदेश सरकारसँग समन्वय गर्ने निर्णय गरेको बताउनुभयो । समितिले प्रदेशसँग समन्वय गर्नुपर्ने भनेकाले नै आफूहरु अवलोकन र अध्ययनका लागि आएको उहाँको भनाइ थियो । पहिलो चरणमा व्यावहारिक र सामान्य अवलोकन गरिएको उल्लेख गर्दै उपाध्यक्ष डा. कँडेलले अब प्राविधिक अध्ययन गरेर मात्रै द्रूतमार्गसँग मदन भण्डारी मार्गलाई कहाँ र कसरी जोड्न सकिन्छ टुंगो लाग्ने बताउनुभयो । उहाँले दुई द्रूतमार्गलाई जोड्नु उपयुक्त हुने र त्यसका लागि प्राविधिकहरुको अध्ययनले अन्तिम निष्कर्ष निकाल्ने उल्लेख गर्नुभयो ।

प्रधानमन्त्री केपी शर्मा ओलीका विकासविज्ञ गजेन्द्र थपलियाले प्रदेश सरकारसँग नेपाल सरकारले सहयोग र सहकार्य गर्ने बताउनुभयो । मदन भण्डारी मार्गमा सुरुङ निर्माणसहित स्तरीकरण गर्ने र द्रूतमार्गसँग जोड्ने प्रदेश सरकारको योजना रहर नभएर टड्कारो आवश्यकता रहेको मुख्यमन्त्री डोरमणि पौडेल बताउनुहुन्छ । अहिले पूर्वी नेपाल र तराईका साना सवारीबाहेकका गाडी हेटौंडाबाट ७६ किलोमिटर नारायणघाट र त्यहाँबाट १ सय ५२ किलोमिटर गरी काठमाडौंका लागि २ सय २८ किलोमिटर लामो यात्रा गर्न बाध्य रहेको उहाँको भनाइ छ । ५४ किलोमिटरको बाटो स्तरीकरण गरी सबै प्रकारका गाडीको आवागमन गराउन सकिने र दीर्घकालीनरूपमा राज्यलाई लाभ हुने उहाँ बताउनुहुन्छ ।

प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री रामेश्वर फुँयाल सुरुङबाहेक मदन भण्डारी मार्गको स्तरीकरणको सम्पूर्ण काम धमाधम भइरहेको बताउनुहुन्छ । सडक फराकिलो बनाउने, पर्खाल लगाउने र सम्याउने काम भइरहेको र चाँडै नै कालोपत्रे गर्ने काम शुरु हुने उहाँको भनाइ छ । कृष्ण उदास खनालले नेपाल समचार पत्र दैनिकमा खबर लेखेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू