अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:२६ | Colorodo: 15:41

नेपालीहरुको महान चाड दशैं शुरु, घरघरमा घटस्थापना गरी जमरा राखियो

बिआरटीनेपाल २०७७ कार्तिक १ गते ७:१५ मा प्रकाशित

आजबाट नेपालीहरुको महान चाड बडा दशैं शुरु भएको छ । आज बडा दशैंको पहिलो दिन घरघरमा घटस्थापना गरी जमरा राखिएको छ । दशैंको पहिलो दिन घटस्थापनाका अवसरमा हरेक नेपालीको घर/ घरमा जमरा राख्ने गरिन्छ । घटस्थापनाकै दिन काठमाडौंको वसन्तपुरमा रहेको दशैंघरमा पनि जमरा राखिएको छ । नेपाली सेनाको टोलीले मंगल धुन बजाएर बढाइँ गरेसँगै आज बिहान ११ः४६ को शुभसाइतमा जमरा राखिएको हो ।

कोभिड– १९ का कारण यो वर्ष केही समस्या भएपनि स्वास्थ्य सुरक्षाका मापदन्ड अपनाएर जमरा राखिएको शार्दुलजंग गुल्मका गुल्मपति सेनानी विकाश शाक्यले बताउनुभयो । विश्व नै कोभिड १९ बाट प्रभावित भएपनि पूजालाई सुरक्षाका सम्पूर्ण मापदन्ड अपनाएर निरन्तरता दिइएको हो ।

आजको दिन बिहानै नित्यकर्म गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याइ गाईको गोबरले लिपपोत गरिएको कोठामा वा दशैंघरमा जमरा रोप्ने गरिन्छ । घटस्थापना गर्दा पूजाकोठा वा दसैंघरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी वैदिक विधिपूर्वक शक्तिकी अधिष्ठात्री दुर्गाको आह्वान गरी पूजा आरम्भ हुन्छ ।

नवरात्रभर दुर्गाका तीन रुप महाकाली, महालक्ष्मी र महासरस्वतीको विधिपूर्वक पूजाराधना गरिन्छ । महाकाली शक्ति, महालक्ष्मी धनधान्य र ऐश्वर्य तथा महासरस्वतीलाई विद्या र बुद्धिको प्रतीकका रुपमा पूजाराधना गर्ने वैदिककालदेखिको परम्परा छ ।

नवरात्रको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघन्टा, चौथो दिन कुष्मान्डा, पाँचौं दिन स्कन्दमाता, छैटौं दिन कात्यायनी, सातौं दिन कालरात्रि, आठौं दिन महागौरी र नवौं दिन सिद्धिदात्रीको पूजाराधना गर्ने गरिन्छ । नवरात्रको अन्तिम दिन दशमीमा मान्यजनको हातबाट देवी दुर्गाको प्रसादका रुपमा टीका र आशिर्वाद ग्रहण गर्ने गरिन्छ ।

 

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू