अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:४८ | Colorodo: 03:03

हरेक १० मध्ये एक जनालाई कोरोना संक्रमण हुन सक्छ – डब्लूएचओ

बिआरटीनेपाल २०७७ असोज २० गते ७:२३ मा प्रकाशित

विश्व स्वास्थ्य संगठन(डब्लूएचओ) ले विश्वमा हरेक १० व्यक्तिमध्ये एक जना कोरोना भाइरसबाट संक्रमित हुन सक्ने बताएको छ । डब्लूएचओको मुख्यालय जेनेभामा आयोजित डब्लूएचओको कार्यकारी बोर्डको मिटिङमा डब्लूएचओका आपत्कालीन कार्यक्रमका प्रमुख डाक्टर माइक रÞ्यानले ‘विश्वको ठूलो हिस्सा’ कोरोना संक्रमणको जोखिममा रहेको बताउनुभएको हो ।

जोन्स होप्किन्स विश्वविद्यालयको कोरोना रिसोर्स सेन्टरको तथ्यांकअनुसार मंगलबार साँझसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ३ करोड ५७ लाख नाघेको छ । डब्लूएचओले भने करिब ८० करोड मानिस कोरोना भाइरसबाट संक्रमित हुन सक्ने बताएको छ । जनस्वास्थ्यविद्हरुले लामो समयदेखि अहिले पुष्टि भएको संख्याभन्दा निकै धेरै कोरोना भाइरसबाट संक्रमित भइसकेको हुन सक्ने बताएका छन् । डाक्टर रÞ्यानले विश्वको जनसंख्याको १० प्रतिशतमा कोरोना भाइरसको संक्रमण हुन सक्ने बताएका छन् ।

चीनको वुहानबाट कोरोना भाइरसको संक्रमण फैलिएको १० महिना पूरा भइसके पनि यो नियन्त्रणभन्दा पनि झन तीव्र रुपमा फैलिरहेको छ । केही मुलुकमा प्रतिबन्ध खुकुलो बनाएसँगै कोरोना संक्रमणको दोस्रो लहर सुरु भएको र पहिलेभन्दा अझ तीव्र रुपमा संक्रमण फैलिरहेको बताइएको छ ।

कोरोना भाइरसको संक्रमण रोकथाम र न्यूनीकरणका लागि विश्वका सबै मुलुकले ऐक्यबद्धता र सामूहिक नेतृत्व देखाउनुपर्ने डब्लूएचओका महानिर्देशक डाक्टर टेड्रोस एड्हानोम गेहब्रेयससले बताउनुभयो । विश्वमा संक्रमण पुष्टि भएको संख्याको ७० प्रतिशत १० वटा मुलुकमा मात्रै रहेको छ भने कुल मृत्यु हुने संख्याको आधा संख्या तीन वटा देशमा मात्रै रहेको उहाँले बताउनुभयो ।

विश्वमा अहिलेसम्म कोरोना भाइरसका कारण १० लाख ४९ हजारभन्दा बढीको मृत्यु भइसकेको छ । त्यसको करिब आधा संख्या अमेरिका, ब्राजिल र भारतमा रहेको छ । जोन्स होप्किन्स विश्वविद्यालयका अनुसार कोरोनाका कारण अमेरिकामा २ लाख १५ हजार ३९, ब्राजिलमा १ लाख ४६ हजार ७ सय ७३ र भारतमा १ लाख ३ हजार ६ सय २९ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू