अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:४३ | Colorodo: 10:58

संविधान दिवसको अवसरमा राष्ट्रपतिको शुभकामना, दुई सय ८९ जना कदीहरुको बाँकी कैद माफी

बिआरटीनेपाल २०७७ असोज ३ गते ७:२२ मा प्रकाशित

राष्ट्रपति विद्यादेवी भण्डारीले अब मुलुकलाई सामाजिक न्यायसहितको आर्थिक समृद्धिको दिशातर्फ अगाडि बढाउनुपर्ने महान् दायित्व हाम्रो काँधमा आएको बताउनुभएको छ । उहाँले जनताको राजनीतिक अधिकार प्राप्तिका लागि गरिने सङ्घर्ष चरण सम्पन्न भएकाले संविधानको मर्म र भावनालाई व्यवहारमा रूपान्तरण गर्न मन, वचन र कर्मले समर्पित भई आ–आफ्नो तर्फबाट इमानदार प्रयास जारी राख्न सबैमा आह्वान पनि गर्नुभएको छ  ।

संविधान दिवस तथा राष्ट्रिय दिवसका अवसरमा दिनुभएको शुभकामना सन्देशमा राष्ट्रपतिले देशभित्र र बाहिर रहनुहुने सबै नेपालीमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्नुभएको छ । नेपाली जनताको लामो सङ्घर्ष र बलिदानपछि पाँच वर्षअघि आजकै दिन जननिर्वाचित संविधान सभाद्वारा नेपालको संविधान जारी भएको थियो । त्यही ऐतिहासिक क्षणको सम्झना र सम्मान गर्न संविधान दिवसलाई राष्ट्रिय दिवसका रूपमा समेत मनाइने गरिएको छ ।

यसैबीच राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा संविधान दिवसको अवसरमा असोज ३ गतेदेखि लागू हुने गरी नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा २८९ जना कैदीहरुको भुक्तान हुन बाँकी कैद माफी मिनाह गर्नुभएको छ ।

यसैगरी उपराष्ट्रपति नन्दबहादुर पुनले दिनुभएको शुभकामना सन्देशमा संविधान जारी भएको पाँच वर्ष पुगिसकेको सन्दर्भमा संविधानअनुसार बन्नुपर्ने कतिपय संरचनाको निर्माण र संविधान कार्यान्वयनका कतिपय काम बाँकी रहेको बताउनुभएको छ । उहाँले संविधान दिवसले बाँकी काम सम्पन्न गर्दै संविधानको पूर्ण कार्यान्वयन गर्न सबैलाई प्रेरणा दिने र संविधान कार्यान्वयनका बाँकी काम यथाशक्य चाँडो पूरा हुने विश्वास व्यक्त गर्नुभएको छ ।

यसैबीच प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले संविधानले सुम्पिएको भूमिकाप्रति न्यायपालिका संवेदनशील रहेको बताउनुभएको छ । उहाँले प्रभावकारी न्याय सम्पादनका माध्यमबाट सबैलाई न्याय सुनिश्चित गर्न अदालत सदैव क्रियाशील रहेको उल्लेख गर्नुभएको छ । यस्तै प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले जनगुनासो सम्बोधन गर्दै संविधान कार्यान्वयनलाई गतिशील बनाउनुपर्नेमा जोड दिनुभएको छ । संविधानमा उल्लिखित व्यवस्थाको कार्यान्वयन अहिले पनि मुख्य कार्यभार रहेको सभामुख सापकोटाको भनाइ छ ।

यसैगरी राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले अब हाम्रा प्रयासहरू व्यवस्था परिवर्तन गर्नेतर्फ होइन कि व्यवस्था सुदृढ र संस्थागत गर्नेतर्फ केन्द्रित हुनुपर्छ भन्नुभएको छ । नेपाली काँग्रेसका सभापति एवम् प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाले दिनुभएको सन्देशमा संविधानको संरक्षण र सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको संस्थागत स्थायित्व कायम गर्दै अबका दिनमा मुलुकलाई आर्थिक समृद्धिको मार्गमा अग्रसर गराउन यस दिवसले सबैलाई प्रेरणा प्रदान गर्ने उल्लेख गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू