अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:३४ | Colorodo: 01:49

निषेधाज्ञा खुकुलो गर्दै काठमाण्डौ उपत्यकामा जोरबिजोर लागू गर्न सुझाव

बिआरटीनेपाल २०७७ भदौ २३ गते ७:०३ मा प्रकाशित

काठमाण्डौ उपत्यकाको नगरपालिका फोरमले जारी निषेधाज्ञा खुकुलो पार्दै यातायात सञ्चालनमा जोरबिजोर प्रणाली लागू गर्न माग गरेको छ । काठमाडौँमा आज बसेको फोरमको बैठकले सार्वजनिक यातायातबाहेकको सवारी सञ्चालनमा जोरविजोर लागू गर्न स्थानीय प्रशासनलाई सुझाव दिएको छ । निषेधाज्ञा खुकुलो बनाउँदा सुरक्षा सतर्कता र स्वास्थ्य सुरक्षा मापदण्ड कार्यान्वयनमा भने कडाइ गर्नुपर्ने निष्कर्ष निकालेको फोरममा सचिव तथा मध्यपुर थिमी नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँका अनुसार काठमाडौँ भित्रिने र बाहिरिने नाकाको आवागमनमा थप कडाई गर्नसमेत सरकारलाई सुझाव दिएको छ । नेपाल प्रहरी शान्ति सुरक्षा तथा अपराध नियन्त्रणका काममा समेत सहभागी हुनुपर्ने भएकाले नाकाको सुरक्षाको जिम्मा नेपाली सेनालाई दिनुपर्ने फोरमको निष्कर्ष रहेकोसमेत उहाँले जानकारी दिनुभयो ।

यस्तै फोरमले विहिबारदेखि उपत्यकाको वडा कार्यालयबाट सेवा सञ्चालन गर्ने निर्णय पनि गरेको छ । सरकारले स्थानीय सरकार सञ्चालन ऐन संसोधन गर्न लागेकाले त्यसका लागि सुझाव दिन कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख कृष्णहरि थापाको संयोजकत्वमा पाँच सदस्यीय कार्यदलसमेत गठन गरेको श्रेष्ठले जानकारी दिनुभयो ।

शिक्षक दरबन्दी मिलानका सन्दर्भमा उपत्यकाबाट शिक्षक कटौती गर्न लागेको भन्ने जानकारी आएकाले उक्त कार्य तत्काल स्थगित गर्न र तलब भत्ता नपाएका शिक्षकको तत्काल तलब भत्ता निकासा गर्न पनि फोरमले माग गरेको छ । बैठक उपत्यका नगरपालिका फोरमका उपाध्यक्ष चिरिबाबु महर्जनको अध्यक्षतामा बसेको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू