अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:१६ | Colorodo: 03:31

५०० बढी कोरोना संक्रमित भएका जिल्लामा निषेधाज्ञा, २०० बढी भएकामा बन्दाबन्दी गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्देशन

बिआरटीनेपाल २०७७ भदौ १७ गते ७:४४ मा प्रकाशित

सरकारले कोरोनाभाइरसको संक्रमण ५०० भन्दा बढी भएका जिल्लामा निषेधाज्ञा र २०० भन्दा बढी संक्रमित भएका जिल्लामा बन्दाबन्दी गर्न निर्देशन दिएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलन मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले कोभिड–१९ को संक्रमणलाई रोक्नका लागि ५०० भन्दा बढी संक्रमित भएका जिल्लामा निषेधाज्ञा र २०० भन्दा बढी संक्रमण भएका जिल्लामा बन्दाबन्दी गर्न सबै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिइसकेको बताउनुभयो ।

५०० भन्दा बढी संक्रमित भएका जिल्ला १२ ओटा रहेका छन् । मोरङ, सुनसरी, बारा, महोत्तरी, धनुषा, रौतहट, सर्लाही, पर्सा, चितवन, काठमाडौं, ललितपुर र रुपन्दही रहेका छन् ।अक्सफोर्ड पोलेसि म्यानेजमेन्टले गरेको नेपालमा कोभिड–१९ को संक्रमितको सर्वेक्षणमा भ्रममा नपर्ने मन्त्रालयका प्रवक्ता डा. गौतमले बताउनुभयो ।

उहाँले मन्त्रालयले आफैं नेपालमा कति संक्रमित हुन सक्छन् भनेर अनुमान गर्नका लागि प्रक्षेपण गरिरहेकोसमेत जानकारी दिनुभयो ।उहाँले कोभिड–१९ को खोप विश्वमा बनेर परीक्षणको क्रममा रहेको भन्दै खोपको सफल परीक्षणपश्चात् नेपालमा समेत ल्याइने जानकारी दिनुभयो ।यस्तै, मन्त्रालयले सोह्रश्राद्ध ‘भर्चुअल’ विधिबाट गर्नसमेत आग्रह गरेको छ ।

कोरोनाभाइरसको संक्रमण विगत २४ घन्टामा एक हजार १२० जनामा देखिएको छ । अहिलेसम्म नेपालमा ४१ हजार ६४९ जना कोभिड–१९ को संक्रमण देखिएको छ ।बुधबार एक हजार ११२ जना निको भएका छन् । अहिलेसम्म २३ हजार २९० जना निको भएर घर फर्किएका छन् । यो ५६ प्रतिशत हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू