अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:४७ | Colorodo: 00:02

चीनले पहिलो कोरोना खोपको सर्वाधिकार स्वीकृत गर्यो

बिआरटीनेपाल २०७७ भदौ १ गते ७:०० मा प्रकाशित

चीनको खोप कम्पनी क्यानसिनो बायलजिक्स कर्पाेरेशनको कोरोना खोप एडी ५–एनसीओभी ले सर्वाधिकारका लागि मञ्जुरी पाएको छ । चीनको सरकारी अखबार ग्लोबल टाइम्सले यसको जानकारी दिएको हो । चीनको बौद्धिक सम्पदा नियामक संस्थाले ११ अगस्ट तारिखमा क्यानसाइनको खोपको सर्वाधिकारका लागि मञ्जुरी दिएको हो । चीनले कुनै कोभिड–१९ को लागि कुनै पनि खोपलाई मञ्जुरी दिएको यो पहिलो पटक हो ।

यद्यपि यसलाई वैज्ञानिक उपलब्धि नभइ व्यावसायिक उपलब्धि मानिएको छ । वाल्टर एण्ड एलिजा हल इन्स्टिच्युट अफ मेडिकल रिसर्चका प्रोफेसर मार्क पेलेग्रिनीले ’द गार्जियन’ अखबारसँग भनेका छन् , ’यो सर्वाधिकारको कारण कसैले अब यो खोपको नक्कल गर्न पाउने छैन तर क्लिनिकल परीक्षणमा अघि बढ्नको लागि सर्वाधिकार हुनु कुनै अनिवार्य मापदण्ड होइन ।’

पेलेग्रिनीले यो खोपको बारेमा केही हप्ताअघि मेडिकल जर्नल ल्यान्सेटमा खबर छापिएको पनि बताए । अक्सफोर्ड समूहले आफ्नो खोपको बारेमा जानकारी प्रकाशित गरेको बेला नै चिनियाँ खोपको बारेमा पनि खबर छापिएको पेलेग्रिनीले बताएका छन् । दुवै खोपमा कोरोना भाइरसविरुद्ध प्रतिरोधात्मक क्षमता बढाउनको लागि एडेनोभाइरस (चिसोपना र सामान्य सङ्क्रमण निम्त्याउने भाइरस) को प्रयोग गरिएको छ ।

साउदी अरबले यही महिना क्यानसाइन कम्पनीको खोपको तेस्रो चरणको परीक्षण गर्ने योजना बनाइरहेको बताएको थियो । यता क्यानसाइनोले तेस्रो चरणको परीक्षणको लागि रुस, ब्राजिल र चिलीसँग कुरा गरिरहेको बताएको थियो । खोपले मञ्जुरी पाएको खबर आएपछि सोमबार बिहान क्यानसाइनोको हङकङको शेयरमा १४ प्रतिशत र दिउँसोसम्म शङ्घाई शेयरमा ६ दशमलव ६ प्रतिशतको बढोत्तरी भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू