अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:५७ | Colorodo: 07:12

नेकपा विवाद – जोड घटाउमा नेताहरू

बिआरटीनेपाल २०७७ साउन १४ गते ०:०६ मा प्रकाशित

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको नेताहरुको मनमुटाव र चरम विवाद छताछुल्ल पोखिएको छ । दुुई अध्यक्षबीच बैठक रोक्ने र अगाडी बढाउने विषयमा पहिलो पटक नयाँ कदम देखिएपछि पार्टीभित्रको विभाजनको रेखा गाढा हुन थालेको हो । दुईजना अध्यक्ष रहेको नेपाल कम्युनिस्ट पार्टी नेकपामा पहिलो पटक पार्टी बैठक एकजनाले स्थगित गर्नु भएको छ ।

अर्का अध्यक्षले एक पक्षीय बैठक गरेर विधी अनुसार चल्न उनै अध्यक्षलाई निर्देशन दिनुभएको छ । अध्यक्ष केपी शर्मा ओलीले पार्टी केन्द्रीय कार्यालयको तर्फबाट स्थायी कमिटीको बैठक स्थगित भएको सूचना जारी भएपछि अर्का अध्यक्ष प्रचण्डले बरिष्ष्ठ नेताहरू झलनाथ खनाल र माधवकुमार नेपाल सहितको बैठक गर्नु भएको हो । त्यही बैठकले पार्टी दुई चिरामा विधिवत् रुपमा उभिएको देखिएको छ ।

प्रधानमन्त्री ओली कुनैपनि अवस्थामा नझुक्ने अडानमा उभिएपछि हिजो अध्यक्ष प्रचण्ड र नेपालपक्षले ओलीको कोर्टमा फालेको बल यतैतिर फर्किएको छ । प्रचण्डका अगाडी अब सम्झौता गरेर ‘पछि हट्ने कि विभाजन रोज्ने’ भन्ने विषय आइपुगेको छ ।

ओलीले अध्यक्ष र प्रधानमन्त्री पद छाड्नुपर्ने अवस्था आए बरु विभाजन नै रोज्ने संकेत पटकपटक देखाइसक्नु भएको छ । नेकपाका नेपालपक्षका एक स्थायी समिति सदस्य भन्नुहुन्छ, – ‘अब प्रधानमन्त्री चट्टानी अडानमा रहेपछि पार्टी जोगाउन कसले धेरै सम्झौता गर्ने भन्ने सवाल आएको छ । नभए पार्टी एकता जोगिने अवस्था छैन ।’

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू