अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:१४ | Colorodo: 20:29

“उत्तेजनामा नआऔं, पार्टी विभाजनको सम्मुख छ”- नेकपा अध्यक्ष प्रचण्ड

बिआरटीनेपाल २०७७ साउन १३ गते ६:२९ मा प्रकाशित

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजनको मुखमा पुगेको पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्वीकार्नुभएको छ । अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीको शैलीलाई लिएर पार्टीभित्र तीब्र विवाद भइरहेका बेला दाहालले पार्टी विभाजनको मुखैमा रहेको बताउनुभएको हो ।

ओलीका कारण सरकार र पार्टी दुबै विफलता उन्मुख भएको भन्दै प्रचण्ड–माधव नेपाललगायत नेता ओलीलाई अध्यक्ष र प्रधानमन्त्री दुबै पदबाट हटाउन खोज्दा नेकपाभित्रको विवाद चरमोत्कर्षमा छ । मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने भनिएको स्थायी कमिटी बैठक अध्यक्ष ओलीले प्रचण्डसंग सल्लाह नै नगरी स्थगित गरिदिएपछि प्रचण्ड–नेपाल पक्षीय भेलामा अध्यक्ष प्रचण्डले पार्टी विभाजनकै मुखमा पुगेको बताउनुभएको हो ।

ओलीले स्थगित गरेपनि आज बसेको स्थायी समिति बैठकमा भेला भएका प्रचण्ड–नेपाल समूहका बहुमत स्थायी कमिटी सदस्यहरुलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले धेरै उत्तेजनामा नआउन सम्झाउनुभएको थियो । बैठकमा प्रचण्ड र नेपाल पक्षका २८ भन्दा बढी स्थायी समिति सदस्य सहभागी रहेको बताईएको छ । ओली नआएपछि बैठककै बीचमा प्रचण्ड र पूर्वप्रधानमन्त्री झलनाथ खनालले बालुवाटारमै ओलीलाई भेटेर बैठक एकलौटी रुपमा किन रोकेको भन्दै जवाफ माग्नुभएको थियो ।

बैठकमा प्रचण्डले निकै कठिनतापूर्वक पार्टी एक गरिएको भन्दैस्थायी समिति सदस्यहरुलाई उत्तेजित नहुन आग्रह गर्दै पार्टी फुटेर कसैलाई फाइदा नहुने बताउनुभएको थियो । अर्कातिर ओली पक्ष पनि प्रधानमन्त्री निवासभित्रै प्रचण्ड–नेपालले स्थायी कमिटी बैठक चलाएमा त्यसको प्रतिकार कसरी गर्ने भन्ने रणनीति बनाउन गूट छलफल गरेका थिए । प्रधानमन्त्री निवासभित्र ओली गूट र बाहिरको हलमा प्रचण्ड–नेपाल गूटको भेला भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू