अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:४० | Colorodo: 22:55

स्थायी कमिटी सरेपछि नेकपामा गुटगत अनौपचारिक छलफल तीव्र

बिआरटीनेपाल २०७७ साउन ४ गते २३:५३ मा प्रकाशित

पार्टीभित्रको विवाद समाधानका लागि गरिएका शीर्ष तहको छलफलमा नयाँनयाँ प्रस्ताव आउने र त्यस बारेमा गुटगत छलफलमा विरोध हुन थालेपछि कसरी अघि बढ्ने भन्नेमा नेकपामा छुट्टाछुट्टै छलफलले तीव्रता पाएका छन् । हिजोका लागि बोलाइएको स्थायी कमिटीको बैठक भोलिसम्मका लागि सारिएको छ । यसबीचमा नेकपाका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तथा वरिष्ठ नेता माधवकुमार नेपाल पक्षबीच छुट्टाछुट्टै र सामूहिक संवाद भइरहेका छन् ।

हिजो साँझ प्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष ओली र प्रचण्डबीच बालुवाटारमा छलफल भयो भने आज पनि दिनभरमा ओली समूहका नेताहरूबीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा र प्रचण्ड–नेपाल समूहका नेताबीच प्रचण्ड निवास खुमलटारमा छलफलको तयारी भएको नेताहरूले बताएका छन् । स्थायी कमिटीको बैठकअघि नेताहरूबीच हुने औपचारिक तथा अनौपचारिक छलफलाई स्वाभाविक रूपमा लिनुपर्ने स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले बताउनुभयो ।

पछिल्लो समयमा प्रधानमन्त्री ओलीले अब आउने महाधिवेशनबाट पार्टी अध्यक्ष बनाउने आश्वास दिएर अर्का अध्यक्ष प्रचण्डलाई आफूलाई प्रधानमन्त्री र अध्यक्षमा समर्थन गर्न अनुरोध गरेपछि नेपाल समूह झस्किएको छ । नेपाल र आफू निकटका नेतालाई हिजो आफ्नै निवास खुमलटारमा बोलाएर प्रचण्डले बाहिर चर्चा भएजसरी कुनै सहमति नभएको बताउनुभएको थियो । यसअघिको स्थायी कमिटी बैठकमा प्रचण्ड–नेपाल समूहले प्रधानमन्त्री ओलीले पार्टी अध्यक्षसहित दुवै पदबाट राजीनामा दिनुपर्नेमा अडान लिँदै आएको थियो ।

 

 

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू