प्रधानमन्त्री केपी शर्मा ओली र पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच आज पनि छलफल हुँदैछ । हिजो प्रधानमन्त्री ओलीले समय नदिएपछि थप छलफल हुन नसकेको नेताहरुले बताएका थिए । आज पुरानै विषयमा सहमति खोज्ने प्रयास गरिने प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटाले जानकारी दिनुभयो ।
स्थायी कमिटीको बैठक असार १६ गतेयता अवरूद्ध रहँदै आएको छ । पछिल्लो पटक असार २६ गतेलाई तय गरिएको थियो । तर, मुलुक बाढी, पहिरोको प्रकोपले आक्रान्त बनेपछि एक साता धकेलिएको थियो ।
यसबीचमा पार्टीको आन्तरिक संकट व्यवस्थापनका लागि दुई अध्यक्षबीच सहमति खोज्ने प्रयास पनि सफल हुन सकेको छैन । स्थायी कमिटीको पाँचौं बैठक सुरु भएपछि दुई अध्यक्ष आजसम्म गरी छैटौं पटक एक्लाएक्लै (वान अन वान) वार्ता हुँदैछ ।
तर, अध्यक्षद्वयबीच पुरानै रटान कायमै छ । पार्टी अध्यक्ष प्रचण्डले सुरुमा प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट राजीनामा दिनुपर्ने अडानमा हुनुहुन्थ्यो । सहमतिका लागि एक पद छाड्न गरेको आग्रह पनि प्रधानमन्त्री ओलीले अटेर गर्दै कुनै पनि पद त्याग्न नसक्ने अडानमा कायमै रहनुभएको छ ।