अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:५६ | Colorodo: 16:11

नेकपा अध्यक्षद्वयबीच ‘वान टु वान’ वार्ता, छलफल सकारात्मक रहेको नेताहरुको दावी

बिआरटीनेपाल २०७७ असार २२ गते ६:३३ मा प्रकाशित

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा देखिएको विवाद समाधान हेतु प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच आज वान टु वान वार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफल सकारात्मक भएको नेताहरुले बताएका छन् ।

छलफलमा अध्यक्ष प्रचण्डले कुनै कार्यदल नबनाइकन दुई जनाकै बीचमा छलफल गर्न जरूरी रहेकोसमेत बताउनुभएको थियो । बैठकमा उहाँले अन्य नेताहरुको सहभागिता विना दुई अध्यक्षकै बीचमा छलफल गर्नु पर्ने बताउनुभएको बुझिएको छ ।

दोश्रो तहका नेताहरूभन्दा पनि आवश्यक परे वरिष्ठ नेतालाई बैठक राख्न जरूरी रहेको प्रचण्डको भनाइ थियो । उहाँले वरिष्ठ नेताहरूसँग छलफल गरेर अगाडि बढ्नु पर्ने समेत बताउनुभयो । यसअघि हिजोको भेटमा दुवै पक्षका केही नेताहरूलाई राखेर अनौपचारिक कार्यदल बनाइएको बालुवाटारले बताएको थियो ।

यसैबीच, पार्टीभित्रको विवादका कारण नेकपा स्थायी कमिटीको बैठक स्थगित भएको छ । संघीय संसद्को अधिवेशन अन्त्य गरेसँगै असार १० गतेदेखि जारी स्थायी कमिटी बैठक पनि प्रभावित भइरहेको स्थायी कमिटी आज फेरि स्थगित भएको छ । सोमबार आज बिहान ११ बजेका लागि बोलाइएको बैठक २४ गतेसम्मका लागि स्थगित भएको छ ।

स्थायी कमिटी बैठकअघि सहमतिको अधिकतम प्रयास खोज्ने भन्दै बैठक स्थगित गरिएको बताइएको छ । बैठक स्थगित गरेर नेकपा अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड छलफलमा जुटनु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू