अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:४२ | Colorodo: 14:57

बन्दाबन्दी अवधिको पनि शुल्क तिर्न विद्यालय सञ्चालकको अभिभावकलाई आग्रह

बिआरटीनेपाल २०७७ असार ७ गते ७:५० मा प्रकाशित

सरकारको निर्णय विपरीत विद्यालय सञ्चालकले बन्दाबन्दी समयको पनि शुल्क बुझाउन अभिभावकलाई आग्रह गरेका छन् । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) र राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एन–प्याब्सन) ले आज संयुक्त रुपमा शुल्क तिर्न अभिभावकलाई आग्रह गरेका हुन् ।

२०७६ को बाँकी वक्यौता सम्भव भएसम्म चुक्ता गर्ने, २०७७ सालको विद्यालयमा बुझाउनुपर्ने शुल्क भुक्तानी गर्ने जस्ता आर्थिक गतिविधिमा सहभागी भई विद्यालयलाई अधिकतम सहयोग गर्न प्याब्सन अध्यक्ष टीकाराम पुरी र एन–प्याब्सन अध्यक्ष ऋतुराज सापकोटाद्वारा जारी गरिएको विज्ञप्तिमा भनिएको छ । कोरोना महामारीका कारण अत्यन्तै जटिल अवस्थामा पुगेको भन्दै विद्यालय सञ्चालकले शुल्क तिर्न अभिभावकलाई आग्रह गरेका छन् ।

बन्दाबन्दीले गर्दा विद्यालयको आम्दानी शून्य भएको, देशभरी करिब दुई लाख शिक्षक–कर्मचारीको जीवन यापन कठिन भएको, विद्यालयले भाडा र ऋणको ब्याज तिर्न नसकेको प्याब्सनको दावी छ । सरकारले निजी विद्यालयका लागि राहत प्याकेज नल्याएपछि विद्यार्थीसँग शुल्क उठाउनुको विकल्प नभएको उनीहरूको भनाइ छ ।

प्याब्सन अध्यक्ष पुरीका अनुसार वैशाख महिनाबाट नै शुल्क लिइनेछ । विद्यालयमा उपस्थित भएर विद्यार्थी भर्नाका लागि समेत उनीहरूले आग्रह गरेका छन् । सामाजिक दुरी कायम राखेर नयाँ तथा पुराना विद्यार्थीले अभिलेखीकरण गराउनुपर्ने विज्ञप्तिमा उल्लेख छ । प्याब्सन र एनप्याब्सनले अनलाइन कक्षाको शुल्क उठाउने पनि संकेत गरेको छ । उनीहरूले वैशाखदेखि नै अनलाइन कक्षा सञ्चालन भएको उल्लेख गरेका छन् ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कार्यविधि बनाएर अनलाइन कक्षा सुरु भएको एक हप्तामै विद्यालय सञ्चालकले २०७७ सालको शुल्क तिर्न आग्रह गरेका छन् । वैशाख, जेठमा छिटफुट अनलाइन कक्षा भए पनि असार एक गतेदेखि भने समय तालिका बनाएर पढाउन सुरु भएको छ । सरकारले भने चैत महिनाको शुल्क नलिन विद्यालयलाई यसअघि नै निर्देशन दिइसकेको छ भने अनलाइन कक्षाको समेत शुल्क लिन नपाइने भनेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू