अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:४२ | Colorodo: 01:57

मन्त्रीपरिषद् बैठक– लकडाउन वैशाख ३ गतेसम्म थप्ने निर्णय

बिआरटीनेपाल २०७६ चैत २४ गते ७:०६ मा प्रकाशित

नेपाल सरकारले गत दुई हप्तादेखि जारी लकडाउनलाई आगामी वैशाख ३ गतेसम्म थप गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को आज बसेको बैठकले यस्तो निर्णय गरेको हो । कोभिड १९ (कोरोना भाइरस) संक्रमण बढ्न नदिन सरकारले चैत ११ गतेदेखि देशलाई लकडाउन गर्ने घोषणा गरेको थियो । चैत १७ मा थप एक हप्ता (चैत २५ सम्म) लकडाउन थप्ने निर्णय सरकारले गरेको थियो। मंगलबार त्यो अवधि सकिने भएपछि सरकारले आजै थप गर्ने निर्णय गरेको हो । छिमेकी भारतले पनि तीन साता लामो लकडाउन गरेको छ।

मुलुकको सुदूरपश्चिम प्रदेशमा ४ सहित नेपालमा जम्मा ९ जनामा कोभिड १९ को संक्रमण भेटिएको छ। धनगढीमा दुबईबाट फर्किएका एक युवाको परिवारकी सदस्यमा समेत संक्रमण देखिएपछि सरकारले कोभिड १९ को स्थानीय संक्रमण भएको भन्दै संक्रमणको दोस्रो चरण सुरु भएको बताएको छ।

सीमा, अन्तर्राष्ट्रिय उडान र आन्तरिक आवतजावत बन्द गरेर भाइरसको संक्रमण फैलन नदिने नीति सरकारले लिएको छ । पछिल्लो समय संक्रमण देखिएको धनगढी र बाग्लुङ क्षेत्रमा सरकारले र्यापिड टेस्ट गर्ने पनि निर्णय गरिसकेको छ भने सुदूरपश्चिम प्रदेश सरकारले क्वारेन्टाइनको अवधि बढाएर २१ दिन पुर्याएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू