अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:३५ | Colorodo: 23:50

सिडिसीको स्वास्थ्य शिक्षणको भाषा पत्रकारका लागि पनि उपयोगी

राजेश कोइराला २०७६ चैत १९ गते १२:४८ मा प्रकाशित

आफू सञ्चारमा काम गर्ने भएर होला, को भिड-१९ बारे सेन्टर फर डिजिज कन्ट्रोल (सिडिसी) को सूक्ष्म शिक्षण खुब मन परेको छ । यो यस पटकको कुरा मात्र होइन । म पछिल्ला ९ वर्षदेखि अनुवादको काम गर्ने सिलसिलामा यसका सामग्रीहरू हेर्दै, पढ्दै, अनुवाद गर्दै आएको छु ।

एउटा प्रसङ्ग सुनाऔँ । फ्लुको खोपमा बर्सेनि सुधार हुन्छ भनिन्छ । पोहोरकै खोप यो साल हुँदैन । त्यसमा थपघट हुन्छ । यसरी बर्सेनि फ्लुबारे संशोधन गरेर पर्ची निकालिन्छ । यस्तै गत सालको पर्ची कसैले अनुवाद गरेको रहेछ । अनलाइनबाट निकालेर यहाँको कंकर्ड अस्पतालमा प्रिन्ट गर्दै बाँढेको मैले देखेँ । त्यसमा त्रुटिहरू देखिए, भाषिक होइन, प्राविधिक । घर आएपछि इन्टरनेटमा खोजे । त्यो पर्ची सिडिसीको वेबसाइटमा भेटिन । मैले नजानेको पनि हुनसक्छ । मैले अर्कै वेबसाइटमा भेटे, सम्पर्क फेला पारेँ र इमेल लेखेँ । सच्याउन आग्रह गरेँ । उनीहरूले चासो दिए । केही पटक इमेल आदान-प्रदान भयो । सच्याएर वेबसाइटमा फेरि नराखेञ्जेल म सम्पर्कमा रहें । भयो । सच्याइएको प्रति त्यहाँ राखियो । यो पैसाका लागि गरिएको काम थिएन, तर मज्जा आयो ।

शिक्षक पेसाबाट पत्रकारितामा गए पनि अनुवादको कामले छाडेको थिएन, आफ्नै मासिक-पत्रिकाहरू, विदेश पेजको समाचारको काम गर्दा । अमेरिका आएपछि अनुवादकै छास्सछुस्स काम गर्न थालियो । यसबिचमा मलाई सिडिसीको सूक्ष्म शिक्षण खुब मन पर्न थालेको छ । उनीहरूको भाषा आम मान्छेले बुझ्ने खालको हुन्छ, जुन अरूका लागि हामीले लेख्नेले पढ्न निकै फाइदा हुन्छ नै । भाषा सरल हुनु र वाक्य छोटा पार्नु त अरूका लागि लेख्नेका निम्ति सूत्र नै हो ।

म एउटा उदाहरण दिन खोज्दैछु, को भिड-१९ बारे यस पटकको पर्चीबाट । ”औषधोपचार सेवा लिनबाहेक घरमै बस्नुहोस्” शीर्षकमा भनिएको छ, ”तपाईँले औषधोपचार सेवाबाहेक आफ्नो घरबाहिरका गतिविधिहरू सीमित गर्नुपर्छ । काम, स्कुल, वा सार्वजनिक स्थलहरूमा नजानुहोस् । सार्वजनिक यातायात, मिलेर सवारी-साधन चढ्ने, वा ट्याक्सीको प्रयोगबाट टाढै बस्नुहोस् ।” उनीहरूले ‘अभ्वाइड’ भनेकोलाई टाढै बस्नुहोस् वा पन्छिनुहोस् वा प्रयोग नगर्नुहोस् त भन्ने होला भन्ने मलाई लाग्छ । अब यो जो कोहीले बुझ्छ । पढ्न सक्नेले पढ्ला, पढ्न नसक्नेले सुनेर बुझ्छ ।
उनीहरूले तयार पारेका पर्चीहरूमा प्राविधिक शब्दहरूको प्रयोग कम देखिन्छ । भइहाले पनि त्यसको व्याख्या पाउने गरेको छु । जस्तो, ”धेरै छुने” सतहहरू प्रत्येक दिन सफा गर्नुहोस्, भनिसकेपछि यसलाई सिडिसीले यसरी स्पष्ट पार्ने कोसिस गरेको छ भने थपेर सफाइ गर्ने तरिका सिकाएको छ, ”धेरै छुने सतहहरूमा चुल्होसँगैको सतह, टेबुलको सतह, ढोकाको डोलो ताल्चा, बाथरुमका जडानहरू, शौचालयहरू, फोनहरू, किबोर्डहरू, ट्याब्लेटहरू, र ओछ्यानसँगैका टेबुलहरू पर्छन् । रगत, दिसा, वा शरीरबाट निस्केको तरल पदार्थहरू हुनसक्ने कुनै पनि सतहहरू पनि सफा गर्नुहोस् । लेबल (पर्ची) मा लेखिएको निर्देशनअनुसार घरायसी प्रयोजनका सफाइका छिर्का वा पुछ्ने कागजहरू (वाइप्स) प्रयोग गर्नुहोस् । लेबलहरूमा सफाइका उत्पादनहरूको सुरक्षित तथा प्रभावकारी प्रयोगको निर्देशन दिइएको हुन्छ, जसमा ती उत्पादन प्रयोग गर्दा तपाईँले अपनाउनुपर्ने सावधानी, जस्तोः पन्जाहरू लगाउने र यी उत्पादन प्रयोग गर्दा राम्ररी हावा आवतजावत गर्ने ठाउँ भएको सुनिश्चित गर्ने, उल्लेख हुन्छ ।”

मैले भन्न खोजेको कुरा के हो भने अमेरिका हो, यहाँ यति सरल हुन किन पर्थ्यो र ? भन्ने हुन्छ । तर सरलता सबैतिर खाँचो हुन्छ । यसको प्रभाव गतिलो हुन्छ । किन भैरव अर्यालका हास्यव्यङ्ग्य जत्तिको स्तरका हास्यव्यङ्ग्य लेखिएनन् ? लेखिएका छन्, तर सरल नभएको मलाई लाग्छ । पाठकले हाम्रो लेखन बुझ्नुपर्दा शब्दकोश पल्टाउन थाल्छ भने त्यो लेखनको काम नै के भयो र ? हामी त्यो कोटीको लेखन त गर्न नसकौँला । तर भाषा सरल र वाक्य छोटा पार्न त सक्छौँ नि !

सन्दर्भ सिडिसीकै गरौँ । अर्को पक्ष भनेको स्वास्थ्य समस्या सानादेखि ठुलासम्ममा संस्थाको प्रयासमा सरलताको अरू उदाहरण भेटिन्छन् । यस पटक मात्र होइन, संस्थाले हात धुनुपर्छ भनेर सिकाउने काम पहिल्यैदेखि गरेको छ । के अमेरिकामा मानिसलाई हात धुन सिकाइरहनु पर्छ र ? हामीलाई लाग्दो हो । पर्दो रहेछ, यस पटक झनै परेको छ ।

यसलाई एक पटक हेरौँ । फ्लुको पर्चीमा हात धुन यसरी सिकाइएको छ, ”साबुन र मनतातो पानीले पटक–पटक हात धुनुहोस् । साबुन र पानी उपलब्ध नभएमा, अल्कोहल भएको हात सफा गर्ने पदार्थ प्रयोग गर्नुहोस् ।” अब यस पटक को भिड-१९ नियन्त्रणमा ”पटक-पटक आफ्ना हातहरू धुनुहोस्” शीर्षकमा यसको भाषा हेर्नुहोस्, ”साबुन-पानीले कम्तीमा २० सेकेन्ड लगाएर पटक-पटक तपाईँका हात धुनुहोस् । यदि साबुन-पानी छैन भने कम्तीमा ६० प्रतिशत अल्कोहल भएको अल्कोहलमा आधारित स्यानिटाइजर प्रयोग गरी हातका सबै सतहहरूमा पुग्ने गरी दुवै हात सुक्खा नभएसम्म दलेर तपाईँका हात सफा गर्नुहोस् । यदि हातहरूमा देखिने फोहोर छ भने साबुन र पानीले प्राथमिकताका साथ प्रयोग गर्नुपर्छ । नधोएका हातहरूले तपाईँका आँखाहरू, नाक, र मुख नछुनुहोस् ।” यसमा को भिड-१९ लाई अलि जटिल समस्या देखेर ” हात सफा गर्ने पदार्थ” लाई थप स्पष्ट पारिएको छ । यी दुवैको प्रस्तुति निकै सरल छ ।

हामी सञ्चारकर्मी भन्छौँ । अरूका निम्ति लेख्छौँ । यसैले म सिडिसीका पर्चाहरू पढ्न सुझाव दिन्छु । यसले धेरै सिकाउँछ जस्तो मलाई लाग्छ ।

(कोइराला, नेपाली न्युज लेटर ‘अक्षरिका’ का सम्पादक हुन् । उनका अरू केही लेख www.koirala.com.np मा पढ्न पाइन्छ ।)

प्रतिक्रिया