अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:३१ | Colorodo: 09:46

“लकडाउन” मा सुरक्षा गस्ती बढाइयो, भारतबाट छिरेकालाई विशेष निगरानी गर्न निर्देशन

बिआरटीनेपाल २०७६ चैत १२ गते २२:१८ मा प्रकाशित

मुलुकमा बिद्यमान लकडाउनको उल्लंघन बढ्न थालेपछि सहरी क्षेत्र र भारतीय सीमा नाकामा सुरक्षा गस्ती बढाइएको छ । एक साताका लागि गरिएको लकडाउन बढ्न सक्ने अनुमान गरी सुरक्षा व्यवस्था र स्वास्थ्य सावधानी अपनाएर स्थिति नियन्त्रणमा राख्न गृह मन्त्रालयले देशभरका प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएको छ । पछिल्लो पटक हवाईमार्ग हुँदै विदेशबाट आएका दुई जनामा कोभिड–१९ को संक्रमण देखिएपछि मानव आउजाउमा थप कडाइ गर्न स्थानीय प्रशासनलाई निर्देशन दिइएको छ ।

विपत् व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले कोभिड–१९ नेपालमा फैलिने उच्च जोखिम रहेकाले त्यसविरुद्ध तयारी भइसकेको जानकारी दिनुभएको छ । सरकारले कोभिड–१९ हवाई र स्थल नाकाबाट भित्रिएका नेपालीमा देखिए भयावह हुने भन्दै उच्च सावधानी अपनाएर निर्णय लिन सुरक्षा निकाय र स्वास्थ्यकर्मीलाई निर्देशन दिएको छ । नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले लकडाउन कार्यान्वयन गराउन आफूहरू लागिपरेको बताउनुभयो । लकडाउनको पहिलो दिन मंगलबार राजविराज, बागलुङ र महोत्तरीको बर्दिबासमा सेना परिचालन गरिएको र बुधबार सबै जिल्लामा स्थिति नियन्त्रणमा रहेको उहाको भनाई छ ।

लकडाउन उल्लंघन नेपाल–भारत सीमा र सहरी क्षेत्रमा बढी भएकाले त्यसलाई नियन्त्रण गर्न गृह मन्त्रालयले सुरक्षा निकायलाई निर्देशन दिएको छ । गृहमन्त्री अध्यक्ष रहेको विपत् व्यवस्थापन प्राधिकरणको सचिवालयले भारतबाट स्थलमार्ग हुँदै नेपाल प्रवेश गर्नेको निगरानीमा विशेष ध्यान दिन निर्देशन दिइसकेको छ । प्राधिकरणले जिल्ला विपत् व्यवस्थापन समितिलाई भारतबाट गाउँ तथा सहर पसेका मानिसमाथि निगरानी राख्न स्थानीय तहसँग समन्वय गरेर खटिन ७७ वटै जिल्ला प्रशासनलाई निर्देशन दिएको छ ।

विदेशबाट आएका मानिसलाई सेल्फ क्वारेन्टाइनमा बस्न र घरपरिवारका सदस्यसँग पनि टाढै रहन गृहले देशभरका प्रमुख जिल्ला अधिकारीमार्फत सर्वसाधारणलाई आग्रह गरेको छ । लकडाउनको दुई दिनमा सहर र तराई र मधेसका क्षेत्रमा बढी उल्लंघनका घटना भएको देखिएको छ ।

मंगलबारबाट १८ गतेसम्मका लागि लगाइएको लकडाउनमा सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, दैनिक उपभोग्य दूध, तरकारी, पानी बोकेका सवारी, इन्धन, एम्बुलेन्स तथा प्रशासनबाट पास लिएका सवारीलाई सञ्चालन अनुमति दिइएको छ । दैनिक उपभोग्य वस्तु किन्न घरबाहिर निस्किएकालाई पनि सामान किन्ने ठाउँसम्म निर्वाह अनुमति दिइएको छ । नेपाल प्रहरीका सहप्रवक्ता एसएसपी उमेशराज जोशीले अत्यावश्यक वस्तु किन्न जानेलाई केही लचकता अपनाइएको र अनावश्यक रूपमा सडकमा ननिस्कन सर्वसाधारणलाई अपिल गरिएको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू