अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:३८ | Colorodo: 12:53

६ सय १० नमुना परीक्षणमा नयाँ संक्रमित पाइएको छैन – स्वास्थ्य मन्त्रालय

बिआरटीनेपाल २०७६ चैत ११ गते २२:२६ मा प्रकाशित

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अहिलेसम्म ६ सय १० वटा नमुना परीक्षण भएकोमा २ जनाबाहेकमा कोभिड १९ संक्रमण नभेटिएको बताएको छ ।स्वास्थ्य मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता विकास देवकोटाले फ्रान्सबाट आएकी महिला र केही समय पहिले एक युवामा बाहेक संक्रमित नभेटिएको जानकारी दिनुभएको हो ।

उहाँका अनुसार कोरोना संक्रमण भएको १ जना र आशंका गरिएका अन्य १५ सहित शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकुमा १६ जना बिरामी छन् । त्यसमध्ये १० जना क्वारेन्टाइनमा छन् भने ५ जना आइसोलेसनमा रहेका छन् ।

त्यस्तै सरकारले यसअघि विदेशबाट आएका वा तीनका नजिकका व्यक्तिहरुको मात्र परीक्षण हुने गरेकोमा त्यसको दायरा बढाई संक्रमणको लक्षण मिलेका ६० वर्ष उमेर नाघेका बिरामी, स्वास्थ्यकर्मी, दीर्घरोगीहरु र सघन उपचार कक्षमा रहेकामा फ्लुको लक्षण देखिएका बिरामीको नमुना संकलन गरी परीक्षण सुरु गरेको छ ।

अन्य अस्पतालहरुमा कोरोना संक्रमणसँग मिल्दो लक्षण देखिएका बिरामी आएमा फिभर क्लिनिक सञ्चालन गरी अस्पतालले आइसोलेसनमा राख्नु पर्ने र कोरोना परीक्षणका लागि नमुना पठाउनुपर्ने व्यवस्था गरिएको समेत देवकोटाले जानकारी दिनुभयो । उहाँले बिरामीलाई रिफर नगरिकन नमुना पठाउन मात्र अनुरोध गरिएको बताउनुभएको छ । विदेशबाट आएकाहरु सेल्फ क्वारेन्टाइनमा नबसी आफूखुसी बस्न थालेकाले देशभर लकडाउन गर्नुपरेको समेत देवकोटाले बताउनुभयो ।

स्वास्थ्य सेवा विभाग, व्यवस्थापन महाशाखामा अहिलेसम्म रहेका स्वास्थ्य सामग्रीहरुमा पीपीई सेट ३ सय ५८ वटा, गाउन १ हजार ४ सय ५६, फेस मास्क १ हजार ५ सय ७८, सेनिटाइजर ७७, पञ्जा, १ हजार ५ सय ९३, एन ९५ मास्क २४, चस्मा ४ सय ८०, आइआर थर्मोमिटर ४, सुकभर १ हजार १ सय ६२ र फेस फिल्ड २ सय ३५ वटा छन् । यसबाहेक विभिन्न संक्रमणको जोखिम रहेका क्षेत्रहरुमा वितरण गर्न राखिएको फेस मास्क २ लाख ७२ हजार ४ सय २० वटा रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू