अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:१४ | Colorodo: 11:29

प्रदेश ३ नाम वाग्मती र राजधानी हेटौंडा बनाउने नेकपाको निर्णय, मातहतका कमिटीलाई निर्देशन

बिआरटीनेपाल २०७६ पुष १३ गते ६:३९ मा प्रकाशित

नेपाल कम्युनिष्ट पार्टीले प्रदेश ३ को नाम र राजधानी टुंग्याएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको सचिवालय बैठकले प्रदेशको नाम वाग्मती र राजधानी हेटौंडा कायम गर्नेगरी प्रदेश कमिटी तथा प्रदेशसभा दललाई निर्देशन दिने निर्णय गरेको हो ।

यो सँगै प्रदेश ३ ले एक साताभित्र स्थायी नाम र राजधानी पाउने भएको छ । यसअघि नेकपाकै सांसदहरूबीच कुरा नमिल्दा प्रदेशको नाम र राजधानीमा २ वर्षदेखि निर्णय हुन सकेको थिएन । आजको बैठकले प्रदेशको नाम र राजधानी टुंग्याएको नेकपा नेता झलनाथ खनालले जानकारी दिनुभयो ।

नेकपाको निर्णयलाई औपचारिकरुपमा सार्वजनिक भने गरिएको छैन । प्रदेश ३ को प्रदेशसभामा नेकपाको दुई तिहाइ बहुमत छ । २०७४ सालमा शेरबहादुर देउवा नेतृत्वको सरकारले निर्वाचनअघि प्रदेशको अस्थायी राजधानी हेटौंडा तोकेको थियो । प्रदेश राजधानी एकछेउमा भएको र अरू जिल्लालाई पायक पर्ने ठाउँमा नभएको भन्दै सार्ने चर्चा चले पनि नेकपाले हेटौंडा नै उपयुक्त हुने निष्कर्ष निकालेको हो ।

यसैबीच, मुख्यमन्त्री डोरमणि पौडेलले पनि पुस २० गतेसम्म नाम र राजधानी टुंगो लाग्ने जानकारी दिनुभएको छ । तर उहाँले नेकपाले मात्रै निर्णय गरेर नपुग्ने भन्दै प्रदेश संसद बैठक बसेर यसलाई वैधानिकता दिनुपर्ने बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू