अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:२५ | Colorodo: 13:40

चण्डेश्वरी विमानस्थलमा परीक्षण उडान सफल

बिआरटीनेपाल २०७६ पुष ७ गते ८:३५ मा प्रकाशित

ओखलढुंगाको खिजीदेम्वा गाउँपालिका स्थित खिजीचण्डेश्वरी विमानस्थलको परीक्षण उडान सफल भएको छ । तारा एयरको 9NAEV कल साईन भएको विमानले आज बिहान सफल अवतरण गरेको हो । परीक्षण उडान तथा विमानस्थल निरीक्षणका लागि पर्यटनमन्त्री योगेश भट्टराई सहितको टोली खिजिदेम्बा पुगेको थियो ।

वि.सं. २०६३ सालबाट निर्माण सुरु भएको विमानस्थलको निर्माण कार्य सक्न १३ बर्ष लागेको हो । पर्यटन बर्ष २०२० लाई लक्षित गर्दै विमानस्थलको निर्माण कार्य सम्पन्न गरिएको हो । निर्माण सम्पन्न भएको एक हप्ता भित्रै विमास्थलको उद्धघाटन गरिएको हो । निर्माण सकिनासाथ परीक्षण उडान भरेर सुधार तथा नियमित उडानका लागि पहल थालिएको पर्यटनमन्त्री भट्टराईले बताउनुभयो ।

विमानस्थलको रनवे ४० मिटर चौडाई र पाँच सय ८० मिटर लम्बाई रहेको छ । मन्त्री भट्टराईले विमानस्थल थप चौडा बनाएर कालोपत्रे गर्न पहल गर्ने प्रतिबद्धता जनाउनुभयो । खिजी क्षेत्रको पर्यटन विकासका लागि पूर्वाधार निर्माणमा मन्त्रालयले बजेट व्यवस्था गर्ने मन्त्री भट्टराईको भनाइ छ । पर्यटकीय क्षेत्र, सडक यातायातको पहुँच कम, तथा खिजीबाट सोलुखुम्बुको लुक्ला लगायतका ठाउँमा पर्यटक जान नजिक र सस्तो पर्ने भएकाले यो विमानस्थल सुचारु गर्नुपर्ने स्थानीयको माग छ ।

जिल्लाकै दुर्गम भेगमा सञ्चालनमा आएको यो विमानस्थल सञ्चालनमा आएसँगै हरेक हिसाबले सहज हुने स्थानीयले विश्वास लिएका छन् । सदरमुकामबाट सडक सञ्जालको समेत सहज पहँुच नभएको खिजिदेम्बामा विमानस्थल सञ्चालनमा आएपछि निकै खुशी लागेको स्थानीय चकेन्द्र सुनुवारले बताउनुभयो । नियमित उडान भएमा खिजीसम्म जहाजमा आएका पर्यटकलाई देम्वा, पिकेहुँदै सगरमाथा जाने पदमार्ग सहज हुने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू