अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:४७ | Colorodo: 15:02

नारायणी नदीमा मिनी पानीजहाजको सफल परीक्षण

बिआरटीनेपाल २०७६ पुष ७ गते ८:२० मा प्रकाशित

चितवनमा बनिरहेको मिनी पानीजहाज (क्रुज सिप) को नारायणी नदीमा सफल परीक्षण गरिएको छ । नारायणी नदी किनारमा पर्ने काभ्रेघाटमा बनिरहेको ‘क्रुज सिप’लाई नदीमा चलाएर परीक्षण गरिएको हो । भरतपुर महानगरपालिका १६ को ज्ञानेश्वर सामुदायिक वनको काप्रेघाटमा लामो समय लगाएर बनाइएको ‘मिनी पानीजहाज’को परीक्षण सफल भएको बताइएको छ ।

क्रुज बनाइएको ठाउँबाट एक किलोमिटरसम्म परीक्षण गरिएको हो । एक सय फिट लम्बाइ र २५ फिट चौडाइको मिनी पानीजहाजको निर्माण गएको वर्ष चैतबाट थालिएको थियो । निर्माण पूरा भइसक्दा यसको लागत १५ करोड रुपैयाँ पुग्ने अनुमान गरिएको छ ।

नर्वेजियन प्रविधि प्रयोग गरेर बनिरहेको क्रुज सिपमा भारतका प्राविधिकले काम गरिरहेका छन् । क्रुजमा दुई वटा इञ्जिन छन् । क्रुजको तल्लो भागमा कुनै कारणले प्वाल परेर वा क्षति भएर पानी पसेमा सबै भागमा पानी नजाने गरी डिजाइन गरिएको छ ।

क्रुज सिपमा अहिले विदेशी १५ जना चालक दलका सदस्य र प्राविधिक रहे पनि पछि नेपाली प्राविधिकहरुले नै यसलाई चलाउने योजना बनाइएको छ । क्रुजको पहिलो तलामा ९० र दोस्रो तलामा १०० जना मानिस अट्ने क्षमता छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू