अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:३९ | Colorodo: 10:54

भ्रष्टाचार न्यूनीकरणमा समाजका सबै पक्षको एकता अपरिहार्य

बिआरटीनेपाल २०७६ पुष ६ गते ८:३२ मा प्रकाशित

काठमाडौँ, भ्रष्टाचार नियन्त्रणका लागि समाजको सम्पूर्ण पक्ष एकै ठाउँमा उभिनुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन्। नेपाल चार्टर एकाउन्टेन्ट संस्थाले आयोजना गरेको कार्यक्रममा उनीहरूले माथिल्लो तहसम्मको भ्रष्टाचार नियन्त्रणमा सबैले कानुनको परिपालना गर्नुपर्नेमा जोड दिए।

कार्यक्रमको उद्घाटन गर्दै अर्थमन्त्री डा युवराज खतिवडाले भ्रष्टाचार जन्य गतिविधि नियन्त्रण र न्यूनीकरणका लागि लेखापरीक्षकहरुको भूमिका महत्त्वपूर्ण हुने उल्लेख गरे। अर्थमन्त्री खतिवडाले कम्पनी दर्ता, वासलात तयारदेखि त्यसको लेखा परीक्षणसम्म गलत हिसाबले हुने गरेको भन्दै त्यसमा कसैले पनि सहयोग गर्न नहुने उल्लेख गरे। प्रविधिको उपलब्धता र नयाँ प्रविधिको विकास र त्यसको उपयोगले वित्तीय तथा आर्थिक अपराधका नयाँ आयाम थपेको पनि उनले बताए। ‘नयाँ वित्तीय उपकरणबारे लेखापरीक्षकहरु जानकार हुनुपर्छ,’ उनले भने।

अर्थमन्त्री खतिवडाले हरेक पेसा र व्यवसायमा संलग्न हुने व्यक्तिले मूल्य मान्यता बाहिरका काम गर्न नहुने भन्दै चार्टर एकाउन्टेन्ट, वकिललगायतका जो सुकै व्यक्तिले पनि व्यावसायिक आचारसंहिता र नैतिकताको सीमा बिर्सिन नहुने बताए। ‘सरकार भ्रष्टाचारमा शून्य सहनशीलता कायम गर्दै पारदर्शिता कायम गर्न सरकार लागि परेको छ, यसकै लागि कानुन पनि बनिरहेका छन्,’ उनले भने।

यसै गरी ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री वर्षमान पुन अनन्तले भ्रष्टाचार र जालसाँजी नियन्त्रणका लागि समाजका सबै पक्षले काम गर्नुपर्ने बताए। उनले लेखा परीक्षण व्यवसाय र समाजलाई अनुशासित बनाउन सबै लाग्नुपर्नेमा जोड दिए। ‘केही मान्छेहरू व्यावसायिक इमानदारितामा नरहँदा सबैलाई प्रश्न उठाइने गरिएको छ,’ उनले भने, ‘खुला समाजमा आफूले गलत नगर्ने र प्रश्नदेखि नडराउने परिस्थिति बन्नुपर्छ।‘

मन्त्री पुनले भ्रष्टाचार समाजको विकास र सामाजिक रूपान्तरणका लागि चुनौतीपूर्ण रहेको बताए। नेपाली समाज परिवर्तनको चरणमा रहेको भन्दै पुराना प्रवृत्ति समाजमा अझै कायम रहेकाले पुरानै जोखिमहरू पनि बाँकी नै रहेको उल्लेख गरे।

कार्यक्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नविनकुरमा घिमिरेले लेखा पद्धति र लेखा परीक्षण व्यवस्थित बनाउन चार्टर एकाउन्टेन्ट्स संस्थाको भूमिका महत्त्वपूर्ण हुने बताए। उनले लेखा परीक्षणका क्रममा वित्तीय ठगी र भ्रष्टाचार भए नभएको हेर्नुपर्ने पनि उल्लेख गरे।
लेख परीक्षकले आर्थिक अनियमितता लुकाउने गरी काम गर्न नहुनेमा पनि घिमिरेले जोड दिए। ‘हामी सबैले बुझ्नुपर्छ, भ्रष्टाचार निवारणमा लेखा परीक्षकको भूमिका हुन्छ, त्यसमा यहाँहरूले पनि व्यावसायिक र नैतिक दायराभित्र बसेर काम गर्नुपर्छ,’ घिमिरेले भने।

यसै गरी महालेखापरीक्षक टङ्कमणि शर्मा दंगालले हरेक व्यावसायिक व्यक्तिले न्यूनतम तहको मूल्य मान्यताभित्र बसे मात्रै पनि भ्रष्टाचारको समस्या न्यूनीकरण हुने बताए। अहिलेको समयमा कर चुहावट, अनियमितता, भ्रष्टाचारको विकेन्द्रीकरण जस्ता समस्या रहेको भन्दै उनले त्यसतर्फ सचेत हुन आग्रह गरे।

अहिले संसारभर नै निजी क्षेत्र ठगीमा र सार्वजनिक क्षेत्र भ्रष्टाचार लुकाउन केन्द्रित रहेको देखिएको उल्लेख गरे। यसै गरी अन्तर्राष्ट्रिय तहमै सम्पत्ति शुद्धीकरणका विषय पनि उठिरहेको भन्दै त्यसतर्फ पनि सचेत हुनुपर्ने उल्लेख गरे।

नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठ व्यावसायिक संस्थाहरूको काम कारबाही सुधार हुँदै जानुपर्ने बताए। उनले नियमनकारी निकायहरूको भूमिका अझै बलियो हुनुपर्ने आवश्यकता रहेको पनि औँल्याए।

नेपाल चार्टर एकाउन्टेन्ट्स संस्थाका अध्यक्ष कृष्णप्रसाद आचार्यले विभिन्न पेसा र व्यवसायमा नैतिकता क्षयीकरण देखिएको अनुभूति जनमानसमा परिरहेको उल्लेख गरे। उनले आफूहरूले आयोजना गरेको यस्ता कार्यक्रमले सदाचार प्रवर्द्धन र भ्रष्टाचार नियन्त्रणमा कसरी काम गर्ने भन्ने विषयमा सरकारलाई पनि सहयोग पुग्ने बताए।

‘व्यावसायिक नैतिकता प्रवर्द्धन गर्ने र हरेक व्यावसायिक व्यक्ति र संस्थालाई नैतिकताको सीमामा राख्ने गरी हामीले काम गर्नुपर्नेछ,’ उनले भने, ‘त्यसैका लागि छलफल आवश्यक परेकाले हामीले यो कार्यक्रम आयोजना गरेका हौँ। यो कार्यक्रमबाट प्राप्त हुने सुझाव र सल्लाह हामी सरकार र अन्य सरोकारवाला निकायलाई पनि प्रस्तुत गर्नेछौँ।‘

राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा मीनबहादुर श्रेष्ठले नेपालमा आर्थिक, सामाजिक, प्रशासनिक तथा कानुनी र राजनीतिक कारणहरूले भ्रष्टाचार बढाउन सहयोग गरिरहेको बताए। ‘नेपालमा आफूले फाइदा लिनका लागि काम ढिलो गर्ने गरेको देखिएको छ,’ उनले भने, ‘संसारभर ग्लोबल कूल गार्हस्थ्य उत्पादनको ५ प्रतिशतसम्म घुसबापत प्रयोग हुने गरेको देखिएको छ।‘ भ्रष्टाचारले मानिसहरूलाई गरिब बनाउने र उनीहरूको जीवनस्तरसमेत कमजोर बनाउने अध्ययनले देखाएको श्रेष्ठले बताए।

भ्रष्टाचारले काम अड्काउन र ढिलो गराउन सिकाउने श्रेष्ठको टिप्पणी छ। यसै गरी भ्रष्टाचारकै कारण पूर्वाधार संरचनाहरूको क्षमता कमजोर हुने गरेको पनि उनले बताए। ‘मानव विकासमा पनि यसले असर गरेको छ,’ उनले भने, ‘सामान्य मानिसहरूले आफ्नो कामको लागत बढाउनुपर्ने हुन्छ।‘ भ्रष्टाचार बढ्दै जाँदा समाजमा पैसा खर्च गर्न सक्नेले मात्रै काम गर्न सक्ने वातावरण तयार गर्ने श्रेष्ठको टिप्पणी छ।
समाजबाट भ्रष्टाचार नहट्ने हो भने त्यसले आन्तरिक तथा बाह्य लगानीलाई अवरोध गर्ने उनको टिप्पणी छ। भ्रष्टाचारले राजस्व क्षयीकरण गर्दै अन्ततः मुलुकको आर्थिक वृद्धिदर नै कमजोर बनाउने उनले बताए। ‘विश्वव्यापी रूपमा नै भ्रष्टाचारले आर्थिक कृयाकलाप कमजोर बनाउँदै अन्ततः आर्थिक वृद्धिदर कमजोर बनाएको छ,’ श्रेष्ठले कार्यपत्र प्रस्तुत गर्दै भने।

योजना आयोगकै अर्का पूर्व उपाध्यक्ष एवं नेपाल राष्ट्र बैङ्कका पूर्व गभर्नर दीपेन्द्रबहादुर क्षेत्रीले अधिकार हनन हुनेदेखि विधिको शासन खलल पुर्‍याउन भ्रष्टाचारले काम गरेको टिप्पणी गरे। उनले लेखापालदेखि लेखा परीक्षकसम्म यसमा जिम्मेवार रहने गरेको भन्दै शुद्धीकरण आवश्यक रहेको औँल्याए।

क्षेत्रीले सार्वजनिक खर्च र त्यसको सुधारका लागि सरकारले गरेको काम अझै पर्याप्त नभएको बताए। ‘विकास आयोजना सुरु गर्नुअघि नै नीतिगत भ्रष्टाचार बढिरहेको छ,’ उनले भने, ‘जुन ठाउँमा महा लेखाको आँखा पुग्दैन त्यहाँबाट काम लगाउने प्रवृत्ति बढेको देखिएको छ।‘
छलफल सत्रमा सहभागी हुँदै अर्थ मन्त्रालयका राजस्व सचिव शिशिरकुमार ढुङ्गानाले गलत काम र भ्रष्टाचार विरुद्ध सरकार निर्मम ढङ्गबाट अघि बढ्ने प्रतिबद्धता व्यक्ति गरे। ढुङ्गानाले यसका लागि समाजका सबै पक्षको सहयोग आवश्यक पर्ने बताए।

‘राष्ट्रिय अर्थतन्त्र गतिशील बनाउनका लागि केही तत्त्व छन्। त्यसमा पारदर्शिता सबैभन्दा महत्त्वपूर्ण विषय हो,’ ढुङ्गानाले भने, ‘गलत गतिविधि बढ्दा खेरी अर्थतन्त्रमा खराब असर पर्छ। समकालीन विश्वमा यसलाई निरकाकरण गरिनुपर्छ भन्ने मान्यता छन्। हाम्रो प्रतिबद्धता पनि छ।‘
यसै गरी नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले कुनै काम समयमा नहुनु झन् ठुलो भ्रष्टाचार भएङ्को टिप्पणी गरे। ‘निजी क्षेत्रको पनि भ्रष्टाचार बढाउनमा सहयोगी भूमिका छ भन्ने कुरा आयो,’ उनले भने, ‘वास्तविकता के हो भने कुनै पनि काम समयमा भएन भने त्यो झन् ठुलो भ्रष्टाचार हो जस्तो लाग्छ।‘

सचिव ढुङ्गानाले ढकालको यो सवालको तत्काल जवाफ दिए। उनले भने, ‘अर्थ मन्त्रालय र मातहतका निकायबाट अहिलेसम्म कुनै काम रोकिएको छैन, कुनै काम कतै रोकिएको भए जानकारी दिनुस् तत्काल अघि बढ्छ।‘

ढकालले अनुगमनकारी निकायको भूमिका धेरै भएका कारण कर्मचारीहरू सही निर्णय गर्न पनि कर्मचारीहरू डराउने अवस्था रहेको बताए। ‘उसको स्वार्थ केही हुन्न तर पनि समाज र मिडियाका डरले गर्न डराउँछ,’ उनले भने, ‘ऊ त्यस्ता अनुगमनकारी निकाय र मिडियासँग डराउने अवस्था छ।‘

यसै गरी नेपाल बार एसोसिएसनका पूर्व उपाध्यक्ष गोविन्द बन्दीले कुनै पनि व्यवसायमा त्यसभित्र रहेका १/२ जना व्यक्तिका कारण सिङ्गो व्यावसायिकतामा प्रश्न उठेको बताए। ‘कुनै व्यवसाय कानुनभन्दा माथि हुन सक्दैन,’ उनले भने, ‘अहिले भ्रष्टाचार नियन्त्रण ठुलो चुनौती हो। सबै सरोकारवाला निकायले जिम्मेवारीपूर्वक सोच्न जरुरी छ।‘

नेपाल इन्जिनियरिङ परिषद्का प्रकाशभक्त उपाध्यायले पूर्वाधार विकास गरेर अघि बढ्नुपर्ने उल्लेख गरे। मुलुक समृद्ध हुँदै गएपछि जनताको आय स्तर बढ्ने र त्यसले साना भ्रष्टाचार नियन्त्रण गर्दै अघि बढ्न सकिने उल्लेख गरे।

नेपाल चार्टर एकाउन्टेन्ट संस्थाका उपाध्यक्ष मदनकुमार शर्माले कुनै पनि व्यवसायमा रहेका व्यक्तिले कुनको परिपालना नगरी आफ्नो हित मात्रै हेर्दा भ्रष्टाचार हुने गरेको उल्लेख गरे। चार्टर एकाउन्टेन्टहरूले कानुनको परिपालना नभएको अवस्थामा चुप लागेर बस्न नहुने शर्माले बताए।

कार्यक्रममा योजना आयोगका पूर्व उपाध्यक्ष श्रेष्ठ, चार्टरड एकाउन्टेन्ट अनलराज भट्टराई र अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सहसचिव प्रदीप कुमार कोइरालाले कार्यपत्र प्रस्तुत गरेका थिए। कार्यक्रममा नेपाल चार्टर एकाउन्टेन्ट संस्थाले सर्टिफिकेसन कोर्स अन फरेन्सिक एकाउन्टिङ एन्ड फ्रड डिटेक्सन नाम कोर्सअन्तर्गत तालिम दिएका ४० जनालाई प्रमाणपत्र दिएको थियो।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू