अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:०१ | Colorodo: 22:16

१३ औँ साग सम्पन्न, ५१ स्वर्ण जित्दै नेपाल दोस्रो

बिआरटीनेपाल २०७६ मंसिर २४ गते ६:३४ मा प्रकाशित

१० दिनअघि सुरु भएको दक्षिण एसियाली खेलकुद (साग) मंगलबार सकिएको छ। मंसिर १५ गते औपचारिक उद्घाटन भएको सागको समापन समारोह त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजना गरिएको थियो । नेपाल सरकारका उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको अध्यक्षतामा १३ औँ सागको समापन समारोह सम्पन्न भएको हो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले सागको उद्घाटन गर्नुभएको थियो । अस्वस्थताका कारण सागको उद्घाटनमा सहभागि हुन नसक्नुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले एक भिडियो सन्देशमार्फत सागको समापन समारोहमा सम्बोधन गर्नुभयो । मंगलबारै सम्पन्न भएको सागको पुरुषतर्फको फुटबलको फाइनल खेल सकिएसँगै सागको समापन समारोह सुरु भएको थियो ।

१३ औँ सागमा उत्कृष्ट प्रदर्शन गर्दै नेपालले ५१ वटा स्वर्णपदक जित्न सफल भएको छ । नेपालले ५१ स्वर्ण, ५९ रजत र ९२ कास्यसहित कुल २ सय २ पदक जितेको छ । नेपाली पौडबाज गौरिका सिंहले एकै सागमा कीर्तिमानी ४ स्वर्ण जित्दै सनसनी मच्चाएकी छिन् । सम्पन्न सागमा समग्रा नेपाल दोस्रो हुन सफल भयो। १३ औँ सागसम्म आइपुग्दा नेपालको यो हालसम्मकै उत्कृष्ट प्रदर्शन हो। यसअघि, नेपालमै आयोजना भएको आठौँ सागमा नेपालले सर्वाधिक ३१ स्वर्ण जितेको थियो।

प्रतियोगितामा १७१ स्वर्ण, ९२ रजत र ४५ कास्यसहित कुल ३ सय ८ पदक जितको भारत पहिलो भएको छ । यस्तै ४० स्वर्ण, ८२ रजत र १२६ कास्यसहित २ सय ४८ पदक जितेको श्रीलंका तेस्रो, ३० स्वर्ण, ४० रजत र ५९ कास्यसहित कुल १२९ पदक जितेको पाकिस्तान चौथो, १९ स्वर्ण, ३२ रजत र ८७ कास्यसहित कुल १३८ पदक जितेको बंगलादेश पाँचौँ भएको छ ।

यसैगरी १ स्वर्ण र ३ कास्यसहित कुल ४ पदक जितेको माल्दिभ्स छैटौँ र ७ रजत र १३ कास्यसहित कुल २० स्वर्ण जितेको भुटान सातौँ स्थानमा रहन सफल भयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू