अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:४८ | Colorodo: 09:03

नेकपाको सचिवालय बैठक बस्दै

बिआरटीनेपाल २०७६ कार्तिक १५ गते २३:१२ मा प्रकाशित

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक बस्दैछ । मङ्सिर १४ गतेको उपनिर्वाचनका लागि उमेद्वार तय गर्न सचिवालय बैठक बोलाइएको नेकपाले जानकारी दिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा अहिले विहान १० बजे बोलाइएको बैठकमा विशेषगरी प्रदेश कमिटिले पठाएका उम्मेद्धारका विषयमा टुंगो लगाउने बताइएको छ । मङ्सिर १४ गते एक प्रतिनिधिसभा, तीन प्रदेशसभा, एक उपमहानगरपालिका प्रमुख, तीन गाउँपालिका अध्यक्ष, एक उपाध्यक्षसहित ४३ वडाध्यक्षसहित ५३ स्थानमा उपनिर्वाचन हुँदैछ । आजको सचिवालय बैठकले सबै उमेदवारको टुङ्गो लगाउने सचिवालयका नेताले जनाएका छन् ।

आसन्न निर्वाचनमा बाग्लुङ्मा नेकपाले चित्रबहादुर केसी नेतृत्वको राष्ट्रिय जनमोर्चासँग तालमेल गर्ने भएको छ । यसअघि पनि वाम गठबन्धन र राजमोबीच तालमेल भएको थियो । गठबन्धनबाट राजमोका उमेदवार टेकबहादुर घर्तीले चुनाव जित्नुभएको थियो । अहिले पनि दिवङ्गत घर्तीकै श्रीमतीले टिकट पाउने सम्भावना रहेको स्रोतको भनाइ छ ।

कास्की–१ मा विद्या भट्टराईको सम्भावना बलियो छ । भट्टराई कास्की–१ बाट यसअघि निर्वाचन जितेका दिवङ्गत नेता रवीन्द्र अधिकारीकी श्रीमती हुनुहुन्छ । यद्यपि गण्डकी प्रदेशले यसअघि प्रदेशसभा सदस्यमा पराजित राजकाजी गुरूङ र सोमनाथ अधिकारी प्यासीको नाम थपेको छ । प्यासी पूर्वएमाले हुनुहुन्छ भने गुरूङ पूर्वमाओवादी केन्द्रका हुनुहुन्छ । दाङ– ३ (ख)मा उत्तरकुमार वलीकी श्रीमती विमला वलीको सम्भावना प्रवल रहेको एक नेताले जानकारी दिनुभयो ।

सचिवालय बैठकमा पार्टी एकताका टुंगो लगाउन बाँकी विषयमा पनि छलफल हुने नेताहरुले जानकारी दिनुभएको छ । प्रधानमन्त्रीको स्वास्थ्य परिक्षणपछि सचिवालय बैठक बस्न लागेको हो । उपनिवार्चनका लागि कात्तिक २१ गते मनोनयन दर्ता गरिसक्नु पर्ने भएकाले सचिवालय बैठक बस्न लागेको बताइएको छ ।

यसैगरी स्रोतका अनुसार सचिवालय बैठकले अर्को साता स्थायी कमिटिको बैठक पनि डाक्न सक्ने सम्भावना रहेको छ । विगतमा सचिवालयले गरेका केही निर्णयले आधिकारिता प्राप्त नगरेकाले स्थायी कमिटि बोलाउन सक्ने नेताहरुले जानकारी दिनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू