अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:३२ | Colorodo: 17:47

उम्मेदवारको टुङ्गो लगाउन काँग्रेसले बोलायो पदाधिकारी बैठक

बिआरटीनेपाल २०७६ कार्तिक १३ गते ७:१० मा प्रकाशित

नेपाली काँग्रेसले आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवार टुङ्गो लगाउन पदाधिकारी बैठक बोलाएको छ । बैठक भोली बिहान (बिहीवार) बस्ने छ । जिल्ला, प्रदेशसभा निर्वाचन क्षेत्र र स्थानीय तहबाट पार्टीका सम्बन्धित निकायले सिफारिस गरी पठाएका नामावलीमाथि छलफल गरी नाम टुङ्गो लगाउन पदाधिकारी तहमा छलफल गर्न लागेको पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

पार्टी सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा पदाधिकारी र उपनिर्वाचन हुने प्रदेशमा पार्टीको राष्ट्रिय जागरण अभियानमा खटिएका प्रतिनिधिसहितको बैठक बस्न लागेको पौडेलले बताउनुभयो । बैठकमा समसायिक राजनीति, उपनिर्वाचनमा पार्टीको तयारी, पार्टीका केन्द्रीय विभाग गठनलगायत विषयमा समेत छलफल हुनेछ । पदाधिकारी बैठकमा सहमति भएका विषयमा निर्णय गर्न काँग्रेसले यही कात्तिक १५ गते दिउँसो १ बजे केन्द्रीय कार्यसमितिको बैठक पनि बोलाएको छ ।

उपनिर्वाचन हुने जिल्ला, प्रदेशसभा निर्वाचन क्षेत्र र स्थानीय तहबाट पार्टीका सम्बन्धित सबै निकायले उम्मेदवारको नाम सिफारिस गरिसकेको मुख्य सचिव पौडेलले जानकारी दिनुभयो । मङ्सिर १४ गते हुने उपनिर्वाचनबाट ३७ जिल्लाका विभिन्न रिक्त पदमध्ये प्रतिनिधिसभा सदस्य एक, प्रदेशसभा सदस्य तीन तथा स्थानीय तहका प्रमुख एक, अध्यक्ष तीन, उपाध्यक्ष एक र वडाध्यक्ष ४३ गरी जम्मा ५२ पदका लागि निर्वाचन हुँदैछ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू