अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:४६ | Colorodo: 04:01

मन्त्रीपरिषद् बैठकका निर्णय सार्वजनिक

बिआरटीनेपाल २०७६ कार्तिक ७ गते ९:३३ मा प्रकाशित

सरकारले नियमित पत्रकार सम्मेलनमार्फत मन्त्रीपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ । सुचना तथा संचार मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता सुचना तथा संचार प्रबिधीमन्त्री गोकुल बाँस्कोटाले गत मंगलबार (कात्तिक ५ गते) बसेको बैठकले गरेका विभिन्न १७ ओटा निर्णयहरु सार्वजनिक गर्नुभएको हो ।

मन्त्रीपरिषद् बैठकले काठमाडौं उपत्यकाभित्र तार व्यवस्थापनसम्बन्धी कार्य गराउन नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिएको छ । बैठकले नेपाल प्रशासन सेवातर्फको विशिष्ठ श्रेणीको सचिव पदमा सहसचिव रामकृष्ण सुवेदीलाई बढुवा गर्ने निर्णय गरेको छ । उहाँ हाल गृह मन्त्रालयका प्रवक्ता हुनुहुन्छ ।

यस्तै, सुनसरीको देवानगन्ज गाउँपालिकालाई देवानगन्ज गाउँपालिका वडा नम्बर–२ मा रहेको ९ कठ्ठा सरकारी जग्गा ३० वर्षसम्म निःशुल्क ‘लिज’मा उपलब्ध गराउन स्वीकृति दिइएको छ । बैठकले नेपाली सेनाका लेखा उपरथी भुवनबहादुर अधिकारी क्षेत्री र महासेनानी आशिषप्रसाद उपाध्यायको राजीनामा स्वीकृत गरेको छ । यसैगरी, रोजगारीको हकसम्बन्धी (पहिलो संशोधन) नियमावली, २०७६ स्वीकृत गरिएको छ ।

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय

१. नेपाल सरकार र बंगलादेश सरकारबीच सम्पन्न द्वैध कराधान मुक्ति तथा वित्तीय छल निरोधसम्बन्धी सम्झौता संघीय संसद्मा जानकारीका लागि पेश गर्न स्वीकृति दिइएको छ ।

२. चालु आर्थिक वर्ष २०७६/७७ को लागि धानको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल मोटा धानको रू. २५३२.८० र मध्ययम धानको रू. २६७३.१६ तोक्ने निर्णय गरिएको छ ।

३. इन्जिनियर श्री तुलाराम पौडेललाई SAARC Energy Center इस्लामावादको Professional Staff Research Fellowका रूपमा काजमा खटाउने निर्णय गरिएको छ ।

४. सुनसरी जिल्लास्थित देवानगञ्ज गाउँपालिकालाई देवानगञ्ज गाउँपालिका वडा नं. २ मा रहेको ९ कठ्ठा सरकारी जग्गा ३० वर्षसम्म निःशूल्क लिजमा उपलब्ध गराउन स्वीकृति दिइएको छ ।

५. नेपाली सेनाका लेखा उपरथी श्री भुवन बहादुर अधिकारी क्षेत्री र महासेनानी श्री आशिष प्रसाद उपाध्यायको राजीनामा स्वीकृत गरिएको छ ।

६. रोजगारीको हक सम्बन्धी (पहिलो संशोधन) नियमावली, २०७६ स्वीकृत गरिएको छ ।

७. काठमाडौं उपत्यकाभित्र तार व्यवस्थापनसम्बन्धी कार्य गराउन नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिइएको छ ।

८. सुचना महामार्ग निर्माण सम्बन्धी कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश खण्डको परियोजना कार्य नेपाल दूरसञ्चार कम्पनी लिमिटेडबाट गराउन नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिइएको छ ।

९. नेपाल स्वास्थ्य अनुसन्धान परिषद् र भारतको Indian Council of Medical Research बीच अनुसन्धानको क्षेत्रमा सहकार्य गर्ने विषयको  MOU मा समकक्षी मिलाई हस्ताक्षर गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई अख्तियारी दिइएको छ ।

१०. किजा पूजाको अवसरमा २०७६ कात्तिक १३ गते बुधवारका दिन सबै सरकारी कार्यलय, सार्वजनिक निकाय, संघसंस्था, शिक्षण संस्थाहरूसमेतमा सार्वजनिक विदा दिने निर्णय गरिएको छ ।

११. राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण (पाँचौ संशोधन) नियमावली, २०७६ स्वीकृत गरिएको छ ।

१२. डिजिटल नेपाल फ्रेमवर्क, २०७६ स्वीकृत गरिएको छ ।

१३. नारायणहिटी दरबार संग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन विकास समिति (गठन) आदेश, २०७६ स्वीकृत गरिएको छ ।

१४. माराकेश सन्धी, २०१३ अनुमोदनका लागि संघीय संसद्मा पेश गर्ने निर्णय गरिएको छ ।

१५. मालपोत नियमावली, २०३६ को नियम ५ ख.(१) को समितिले गरेको न्यूनतम मूल्यांकन सम्बन्धी निर्णय परिमार्जन गर्न स्वीकृति दिइएको छ ।

१६. गैर करका दरहरू पुनरावलोकन स्वीकृत गरिएको छ ।

१७. नेपाल प्रशासन सेवातर्फको विशिष्ठ श्रेणीको सचिव पदमा सहसचिव श्री रामकृष्ण सुवेदीलाई बढुवा गर्ने निर्णय गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू