अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:४५ | Colorodo: 00:00

भाइटीकाको शुभ साइत कार्तिक १२ गते ११– ५५ बजे, शुक्रबारबाट यमपञ्चक सुरु हुने

बिआरटीनेपाल २०७६ कार्तिक ३ गते ९:१३ मा प्रकाशित

नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको भाइटीकाको शुभ साइत सार्वजनिक गरेको छ । समितिले तिहारका विभिन्न पर्वको निर्णय गर्दै भाइटीकाको साइत सार्वजनिक गरेको अध्यक्ष प्रा डा. रामचन्द्र गौतमले जानकारी दिनुभयो ।

समितिका अनुसार कात्तिक १२ गते मंगलबार बिहान ११– ५५ बजे भाइटीकाको उत्तम साइत रहेको छ । कात्तिक १२ गते मंगलबार दिनभर टीका लगाउन बाधा नपरे पनि साइत खोज्नेका लागि अभिजित् मुहूर्तको शुभ साइत दिइएको समितिले जनाएको छ ।

यस वर्ष यमपञ्चक कात्तिक ८ गते शुक्रबारदेखि सुरु हुन्छ । त्यस दिनदेखि यमदीप दान सुरु गरिन्छ । कात्तिक ९ गते शनिबार काग तिहार परेको छ । यसैगरी धनवन्तरी जयन्ती र धनतेरस पर्व पनि यसै दिन परेको छ। कात्तिक १० गते आइतबार बिहान नरक स्नानसहित कुकुर तिहार र बेलुकी लक्ष्मीपूजा परेको छ। बिहान ११ बजेसम्म कात्तिक कृष्ण चतुर्दशी र त्यसपछि औँशी तिथि लाग्ने छ ।

गाई, गोरु र आत्म(म्ह) पूजा भने कात्तिक ११ गते सोमबार गर्नुपर्ने शास्त्रीय वचन रहेको छ। ११ गते बिहान ९– ४३ बजेसम्म औँशी तिथि पर्दछ । त्यसपछि कात्तिक शुक्ल प्रतिपदा प्रारम्भ हुने भएकाले आत्म(म्ह) पूजा यसै दिन गर्नुपर्ने हुन्छ।

कात्तिक १२ गते भाइटीकाकै दिन यस वर्ष नेपाल सम्वत्अनुसार नयाँ वर्ष मनाउनुपर्ने पनि समितिले जनाएको छ । प्रतिपदाका दिन सूर्योदय भएकै दिन नयाँ वर्ष मनाउनुपर्ने शास्त्रीय वचनअनुसार यस्तो निर्णय गरिएको अध्यक्ष गौतमले बताउनुभयो । यसै दिनदेखि नेपाल संवत् ११४० सुरु हुन्छ । भाइपूजा र नेवारी भाषामा किजापूजा पनि कात्तिक १२ गते नै गरिन्छ ।

कात्तिक १३ गते बिहान ६–१८ बजेसम्म मात्र द्वितीया तिथि रहेकाले कात्तिक १२ गते नै भाइटीका मनाउन शास्त्र सम्मत हुने समितिको ठहर छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू