अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:५३ | Colorodo: 11:08

लोपोन्मुख जाति, भाषा र संस्कृतिको संरक्षण गर्न सरकार प्रतिबद्ध – पर्यटन मन्त्री भट्टराई

बिआरटीनेपाल २०७६ असोज ३० गते ९:२८ मा प्रकाशित

नेपाल सरकारका संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेशकुमार भट्टराईले लोपोन्मुख जाति, भाषा र संस्कृतिको संरक्षण गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । मन्त्री भट्टराईले सबै भाषा, जाति र संस्कृतिको संरक्षण र संवद्र्धनका लागि सरकारले संवैधानिक अंगहरुकै व्यवस्था गरेको पनि स्पष्ट पार्नुभयो ।

अमूर्त सांस्कृतिक सम्पदा दिवसको अवसर पारेर बिहीबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री भट्टराईले सरकारले नयाँ पुस्तालाई समेत मुलुकका अमूर्त सांस्कृतिक सम्पदाहरु हस्तान्तरण गर्ने गरी भाषा आयोग, महिला आयोग, मधेशी आयोग र विभिन्न प्रतिष्ठानहरुको गठन गरी त्यसको खोज र अनुसन्धानको कामलाई निरन्तरता दिइरहेको उल्लेख गर्नुभयो । मन्त्री भट्टराईले जनस्तरबाट स्थापना गरिएका संघ, संस्थाहरुले पनि नेपालको अमूर्त सांस्कृतिक सम्पदाहरुको संरक्षण, सम्वद्र्धन र विकासमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताउनुभयो ।

कार्यक्रममा बोल्दै संस्कृतिविद् सत्यमोहन जोशीले नेपालको परम्परागत ज्ञान, सीप र प्रविधिलाई लोप हुन नदिन सरकारको ध्यानाकर्षण गराउनुभयो ।सरकारले सांस्कृतिक सम्पदाहरुको पनि संरक्षण हुने गरी ‘सांस्कृतिक नीति’ बनाएकोमा खुसी व्यक्त गर्दै त्यसको प्रभावकारी कार्यान्वयनमा जोड दिनुपर्ने उहाँले आवश्यकता औंल्याउनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू