अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:०१ | Colorodo: 20:16

मन्त्रीपरिषद् बैठक – चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणको सबै तयारी पूरा

बिआरटीनेपाल २०७६ असोज २३ गते ९:११ मा प्रकाशित

सरकारले चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणको सबै तयारी पूरा भएको जनाएको छ । मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न आज सिंहदरबारमा आयोजित नियमित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले चिनियाँ राष्ट्रपतिको नेपालको राजकीय भ्रमणको सबै तयारी पूरा भएको जानकारी दिनुभयो । राष्ट्रपति सीको भ्रमणका लागि सुरक्षा व्यवस्था चुस्त पारिएको उहाँको भनाइ छ । राष्ट्रपति सी दुई दिने राजकीय भ्रमणका लागि पर्सि नेपाल आउने कार्यक्रम छ ।

मन्त्रिपरिषद बैठककोे असोज १७ गते गरेका निर्णय सार्वजनिक गरिएको हो । मन्त्रिपरिषद बैठकले विद्यालय क्षेत्र विकास कार्यक्रममा विश्व बैंकले प्रदान गर्ने दुई अर्ब ७१ करोड १३ लाख रुपैयाँ अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ । विशेष आर्थिक क्षेत्र प्राधिकरणको कार्यकारी निर्देशकको नियुक्ति नभएसम्मका लागि मन्त्रालयका सहसचिव रामचन्द्र ढकाललाई काम गर्ने गरी तोक्ने निर्णय गरिएको छ।

आर्थिक वर्ष ०७६/७७ मा मन्त्रालय अन्तर्गतका सात वटा आयोजनका लागि ६० राजपत्रांकित पदहरूको अस्थायी दरबन्दी बैठकले स्वीकत गरेको छ भने नेपाली सेनाका सहायक रथीद्वय अशोकराज सिग्देल र गोकुल भण्डारीलाई उपरथी दर्जामा तथा महासेनानी कुमारबाबु थापासमेत ५ जना महासेनानीहरूलाई सहायक रथी दर्जामा पदोन्नति गर्ने निर्णय गरिएको छ ।

नख्खुखोला–भैसेपाटी–बुङमति सडक स्तरोन्नति गर्नका लागि राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न दिने निर्णय मन्त्रीपरिषद् बैठकले गरेको छ भने नेपाल–भारत विद्युत व्यापार सम्झौता अन्र्तगतका संयुक्त सञ्चालक समिति र संयुक्त कार्य समूहको सातौँ बैठकमा ऊर्जा जलस्रोत मन्त्रालयका सचिव नेतृत्वको प्रतिनिधिमण्डललाई भाग लिन स्वीकृति दिइएको छ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू