अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:१५ | Colorodo: 14:30

चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण – शीतल निवासमा भोज, शी–ओली उपस्थितिमा द्विपक्षीय सम्झौता

बिआरटीनेपाल २०७६ असोज २२ गते ८:२६ मा प्रकाशित

सरकारले चिनियाँ राष्ट्रपति शी चिनपिङले असोज २५ र २६ गते नेपाल भ्रमण गर्ने औपचारिक घोषणा गरेको छ ।परराष्ट्र मन्त्रालयले बुधवार एक विज्ञप्ति प्रकाशित गरी राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा चिनियाँ राष्ट्रपति शीले अक्टोबर १२ र १३ तारिख अर्थात् असोज २५ र २६ गते नेपाल भ्रमण गर्ने तय भएको घोषणा गरेको हो ।

चिनियाँ राष्ट्रपति शीको नेपाल भ्रमणका क्रममा राष्ट्रपति भण्डारीसँग भेटवार्ता हुने र चिनियाँ प्रतिनिधिमण्डलको स्वागतका लागि भोज (ब्याङ्क्वेट)को आयोजना गर्ने तय भएको समेत परराष्ट्रले जनाएको छ । शुक्रवार भारत भ्रमणमा जान लागेका शी शनिवार दिउँसो नेपाल आउने कार्यक्रम छ ।

राष्ट्रपति शीको भ्रमणको पूरै तालिका सार्वजनिक नभएपनि प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता र शी तथा ओली दुवैको उपस्थितिमा द्विपक्षीय सम्झौताका हस्ताक्षर हुने विज्ञप्तिमा जनाइएको छ । नेपाल भ्रमणका क्रममा राष्ट्रपति शीले केही सहयोग घोषणा समेत गर्ने तयारी रहेको नेकपा निकट स्रोत बताएको छ ।

नेपाल बसाइका क्रममा राष्ट्रपति शीले राजनीतिक दलका शीर्ष नेताहरूलाई सामूहिक रूपमा भेट्नुहुनेछ । शनिवार नेपाल आउने शी आइतवार स्वदेश फर्किने कार्यक्रम छ । २३ वर्षपछि चिनियाँ राष्ट्रपति नेपाल भ्रमणमा आउन लाग्नुभएको हो । यसअघि तत्कालीन चिनियाँ राष्ट्रपति जियाङ जमिनले सन् १९९६ मा नेपाल भ्रमण गर्नुभएको थियो । त्यसयता उत्तरी छिमेकी चीनबाट कुनै पनि राष्ट्र प्रमुखले नेपाल भ्रमण गरेका छैनन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू