अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:५२ | Colorodo: 04:07

बाल्टिमोरमा दोस्रो इन्द्रजात्रा पर्व भव्यताको साथ सम्पन्न

विजय थापा २०७६ असोज १४ गते १०:४८ मा प्रकाशित

नेपा: कम्युनिटी यूएसएको आयोजनामा गन पाउडर फल्स स्टेट पार्क बाल्टिमोरमा सेप्टेम्बर २९ आइतबारका दिन भव्यताका साथ दोस्रो पटक येंया (इन्द्र जात्रा) को भव्यताका साथ सम्पन्न गरियो ।

नेपालकै महत्त्वपूर्ण सांस्कृतिक पर्व इन्द्रजात्रा अब काठमाडौँ मात्र सीमित रहेन । आज भन्दा ९ वर्ष अगाडि अमेरिकाको वासिङ्टन डिसीबाट सुरु भएको इन्द्रजात्रा अब अमेरिकाको विभिन्न राज्यहरूमा अनि विश्वका विभिन्न देशहरूमा समेत उल्लेख्य रूपमा मनाउने क्रम जारी छ । यसै क्रममा मेरिल्यान्ड राज्यको बाल्टिमोर सहरमा पनि गत वर्ष देखि मनाउन थालिएको हो । नेवा: भेषभुसामा सजिएका बाल बालिका देखि लिएर नरनारीहरू र विदेशी नागरिकहरू समेत सबै जनाको उपस्थितिले काठमान्डुको झझल्को दिएको थियो ।

उक्त कार्यक्रममा नेवा: समुदायको परम्परागत भोज समयबजीको साथै कुमारी रथ यात्रा, आकाश भैरवको प्रदर्शन, बृहत् आकर्षक सम्येबजि प्रदर्शन , धुन्या प्रदर्शन, धिमे बाजा, भुस्या बाजा, परम्परागत सांस्कृतिक पहिरनका लगाई सांस्कृतिक बस्तुहरूको प्रदर्शन, पुलुकिसी तथा लाखे नृत्यहरू प्रस्तुत गरिएका थिए । यस पटकको विशेष आकर्षण भक्तपुरको नवदुर्गा देव देवी र अष्ट मातृकाको देवीहरूलाई समिश्रण प्रस्तुत गरिएको थियो ।

काठमाडौँ उपत्यकाको झझल्को आउने गरी प्रसादको रूपमा हाथु हायेकेगु (श्वेत भैरवको मुखबाट जाँडलाई पाइपमा राखी खुवाउने)अझ थप प्रस्तुतिको साथ मनाइएको इन्द्रजात्रामा नेवा:समुदायको साथै वरपर तथा विभिन्न राज्यहरूबाट समेत आएका नेपाली समुदायको बाक्लो उपस्थिति थियो ।

विशेष काठमाडौँ लगायत ललितपुर, भक्तपुर, धुलिखेल,दोलखा लगायतका स्थानमा वर्षा र सहकालका देवता इन्द्रको पूजा-आराधना गरी परम्परागत रूपमा नेवा :समुदायहरूले मनाउने विविध जात्रामध्येको एउटा रमाइलो महत्त्वपूर्ण जात्रा हो ।

सनातन धर्मावलम्बीहरूका चाँड दसैँ, तिहार, फागु पूर्ण भन्दा पनि यो इन्द्रजात्रा महत्त्वपूर्ण भएको कुरा उत्तर अमेरिकाको लागी सांस्कृतिक राजदूत (यो पदवी वर्ड नेवा अर्गानाईजेशन ले प्रदान गरेको हो) र आयोजक समितिका सदस्य बासब राजोपाध्यायले जानकारी गराए । इन्द्रजात्रा ऐतिहासिक हुनुको पछाडि यस्तो कारण पनि छ ।

यँया: पून्हीं ( इन्द्र जात्रा) सम्बन्धमा नेपाल भाषामा “यँ ” भनेको इन्द्र भगवान् , “यँया:” भनेको इन्द्रजात्रा हो l द्वापर युगमा कृष्ण भगवानले पारिजात पुष्प स्वर्गबाट ल्याएर रूक्मनीलाई दिनु भएकोले त्यो फुल पृथ्वीमा आई पुगेको कथा रहेको छ भने स्वर्गमा इन्द्र कि आमा वसुन्धरा देवीलाई व्रत पूजाको लागी त्यही फुल चाहिने भएकोले इन्द्र स्वयम् धर्तीमा त्यो फुल लिनु आउनु हुँदा काठमांडौंको मरूटोलमा तान्त्रिक मालीद्वारा समातिएको थियो l

यसको साथै पुलुकिसि ( ऐरावत हात्ती) इन्द्रको वाहन ले इन्द्रलाई खोज्न आउँदा काठमांडौको किलाग: टोलमा समातिएको र इन्द्र कि आमाले राक्षसको रूप “दागीं ” बनेर छोरो लाई लिन आउनु भएको थियो । मालीको सबै मागहरू कहिले अनिकाल नहुने, धान राम्रो फल्ने, मृतक सबै जनालाई स्वर्ग वास गराउने भन्ने सबै कुरा पूरा गरिदिने वाचा सहित छोरा इन्द्रलाई लिएर जानु हुन्छ यसरी इन्द्रजात्रा सुरु भयो भनी बासब राजोपाध्यायले व्याख्या गर्नु भयो । इन्द्र जात्रामा जीवित कुमारी देवीको कसरी सुरुवात भयो भन्ने सम्बन्धमा मल्लकालिन राजा गुणकामदेवले आफ्ना ईष्टदेवी त्रिपुरा सुन्दरी देवी सँग प्रत्यक्ष रूपमै जुवा खेलिरहँदा देवी प्रति गलत आशय प्रकट हुन गएको प्रस्तुति गरिएको थियो l

देवी अन्तर्धान हुनु भएको र राजाको क्षमा याचना पश्चात् अब उप्रान्त प्रत्यक्ष दर्शन नदिने तर कुमारी कन्यामा प्रवेश भएर दर्शन दिने वचन दिए पछि कुमारीको पूजा सुरु भएको थियो र कुमारी जात्रा जय प्रकाश मल्ल राजाको पालामा सुरु भएको हो राजोपाध्यायले बताए l लाखे नाचको सुरुबाटको कथा यस्तो छ – नेवार किसान ज्यापू खेतमा काम गर्न जाँदा राक्षस पनि मान्छेको भेषमा काम सघाउन आउँथ्यो l त्यो राक्षस ( नेवारहरूले “र” लाई “ल” उच्चारण गरिने चलन छ । त्यसैले राक्षस लाई राक्षस र पछि लाखे हुनु गएको) लाखेको उद्देश्य त्यो किसान ज्यापूकी छोरीसँग विवाह गर्ने यसरी लाखेले मित्रता बनाएर ज्यापूको घर पुगेर उक्सी छोरीसँग मायाप्रिती गाँस्न सफल हुन्छ । पछि त्यो राक्षस हो भन्ने थाहा पायो ।

उसले सबै जना लाई सास्ती दिने, बच्चाहरू समेत खान थाल्यो । सबै जनाले प्राण रक्षाको लागी ठुलो तान्त्रिकलाई बोलाई लाखेलाई शक्ति हीन बनाई अब उप्रान्त देशको सिमानामा बसेर रक्षा गर्ने, बच्चाहरूलाई रक्षा गर्ने वाचा गराई लाखेलाई जीवन दान दिई लाखे आजु बनाएर पूजा गरी जात्रा गर्ने गरिएको कुरा युवा संस्कृतिबिद् बासब राजोपाध्यायले बताए l

त्यसै गरि वर्ल्ड नेवा: अर्गानाईजेशनका अध्यक्ष तथा आयोजक समितीका सदस्य सिजन श्रेष्ठले येंया नेवारको मात्र नभई यो नेपाल कै बिशेषताको रूपमा सम्पूर्ण नेपाली कै हो र आज भन्दा ९ बर्ष अगाडी नेपालबाट बाहिर पहिलो पटक डिसिमा शुरू गरिएको यो ईन्द्रजात्रा बिश्व मै फैलिदै बिश्व ब्यापिकरण हुँदै गएको भन्ने मन्तब्य सँगै शुभकामना पनि दिएका थिए । सृजना आर्ट कलेज नेपालका संस्थापक प्रिन्सीपल बरिष्ठ कलाकार तथा आयोजक समितिका सदस्य बैकुण्ठमान श्रेष्ठले उपस्थित सबैलाई स्वागत गर्नु भयो । नेपा पासा पुच: अमेरिकाका संस्थापक अध्यक्ष तथा बरिष्ठ समाजसेवी राम मालाकारले पनि ईन्द्रजात्रामा उपस्थित सबैजनालाई स्वागत गरेका थिए ।

यसै गरि समितिका संयोजक समाजसेवी विजय श्रेष्ठले यो पर्व सबै जातजातिको लागि आयोजना गरिएको बताए । साथै विदेशमा नेपाली संस्कृति र दोश्रो पुस्ताले हाम्रो संस्कृति सिकुन भन्ने पनि मुख्य उद्धेश्य रहेको बताए ।  बिभिन्न संघ संस्थाका प्रतिनिधिहरूको उपस्थितिका साथै मिस यूनिभर्स नेपाल २०१७ नग्मा श्रेष्ठ र मिस नेपाल नर्थ अमेरिका २०१९ श्रीया गजुरेलले २८ जना सहभागी बच्चाहरूबाट सृजन ताम्राकार संयोजक रहेका उत्कृष्ट परम्परागत पहिरन प्रतियोगिताको मूल्यांकन गरि यूनिस श्रेष्ठ र सुजन्ना श्रेष्ठलाई उत्कृष्ट घोषणा गरिएको थियो । यस कार्यक्रमको प्रायोजन कुमार कार्की – एभरेष्ट वर्ड क्लास तेक्वान्डोले गर्नु भएको थियो । मजिपा लाखे आजु बनेर सुसन मानन्धर र गोल: दे ( देवपत्तन) लाखे आजु बनि बिक्रान्तमान श्रेष्ठ नाचेका थिए ।

यसै क्रममा समाजसेवी तथा घिमिरे होम्सका कृष घिमिरेलाई सम्मान गरिएको थियो । बिजया दशमीको शुरूवाटको पावन दिन घटस्थापना पनि परेकोले नबदुर्गा र अष्टमातृका देव देवीहरूको समिश्रण अत्यन्तै आकर्षण झाँकीमा – श्री गणेद्य, श्री भैरव आजु, श्री त्रिपुरा सुन्दरी देवी, श्री माहेश्वरी देवी, श्री बैष्णवी देवी, श्री महाकाली देवी, श्री ईन्द्रायणी देवी, श्री महालक्ष्मी देवी, श्री बाराही देवीको रूपमा क्रमश : सुमन सिं, जयम्बु रन्जित, सज्जा रावत, श्रेय ताम्राकार, प्रसिध्द कतिला,संगम आचार्य, शान्ति श्रेष्ठ , पन्च श्रेष्ठ, तथा मार्कण्डेय मानसिं प्रधान बन्नु भएको थियो भने यो बर्ष श्री कुमारी माजुको रथ भित्र बस्ने श्री कुमारीको रूपमा बालिका सुनैना श्रेष्ठ भएका थिए ।

साँस्कृतिक मनोरन्जनात्मक कार्यक्रमलाई गायक तथा आयोजक समितिका सदस्य सृजन ताम्राकारले आकर्षक ढंगले अगाडी बढाउदै प्रख्यात नेपाली कलाकारहरू सन्जीप प्रधान, सरिष्मा अमात्य, नलिना चित्रकार, सिने गुरूंग, डा. रानी शाक्य तथा सृजन ताम्राकारले उपस्थित सम्पूर्ण लाई भरमग्दूर मनोरन्जन गराउनका साथै दर्शकहरूलाई नचाउन सफल भए । नृत्य तर्फ नृत्यांगना मतिना मानन्धरले बज्रयोगिनीको बडो आकर्षक नृत्य प्रस्तुत गरी दर्शकहरूलाई मनोरन्जन दिलाउन सफल भए त्यसै गरी देवी कुमारी नृत्यमा नृत्यांगना दीपिका श्रेष्ठ राजभण्डारीले आफ्नो बेजोड प्रस्तुती प्रस्तुत गरेका थिए । बाल प्रतिभाहरू सुजन्ना श्रेष्ठ र प्रिशा गुरूवाचार्य, रश्मिला श्रेष्ठ, केन्नी शाह, स्वस्तिका ढकाल , करूना श्रेष्ठले आकर्षक नृत्यहरू प्रस्तुत गरे । अर्का बाल प्रतिभा आयुष शाक्यले अंग्रेजी गीत गाए।

डिजे तर्फ दिनेश गुरूंग रहेका थिए । नाम्लो ईभेन्ट टीमको ब्यवस्थापन, मिडीया पार्टनर बिजय थापा-ईनेप्लिज डट कम, मेरिल्याण्डका हामी नेपाली, आई टी सहयाेगी सुशान मानन्धर त्यसैगरी खाना ब्यवस्थापनमा संयाजक अबिन मानन्धर, दिलिप श्रेष्ठ, मिनु श्रेष्ठ, अन्जिता श्रेष्ठ, अस्मिता श्रेष्ठ, रमेश श्रेष्ठ, अशोक उप्रेती, नलिना मलेकु, निर्मला श्रेष्ठ, सुरेश श्रेष्ठ, सुमन सिं लगायतका ब्यक्तिहरूले सहयोग गर्नु भएको थियो । सम्पूर्ण खाना बाल्टिमोरको बिभिन्न नेपाली रेष्टुरेण्ट तथा बिभिन्न महानुभावहरूले घरैमा तयार पारेर ल्याएका थिए ।

कार्यक्रमको अन्त्यमा बिजय श्रेष्ठ र सिजन श्रेष्ठ द्वयले कलाकारहरूलाई प्रमाणपत्र प्रदान गरि सम्पूर्ण स्वयम् सेवक सदस्यहरूलाई र उपस्थित सबैलाई धन्यवाद दिई भव्यताका साथ सुसम्पन्न भयो ।

शृङ्गार पटारमा अर्पना श्रेष्ठ र सज्जा रावतले सहयोग गर्नु भएको थियो। बिहान देखि नै चर्को घाम भएता पनि विभिन्न राज्यहरू न्यु योर्क, न्यु जर्सी, पेन्सिलभानिया, भर्जिनिया, जर्जिया, डेलावेयर , मेरिल्यान्डबाट करिब ९०० भन्दा बढी जन समुदायको उपस्थिति थियो । बासव राजोपाध्यायको आकर्षक उद्घोषणबाट शुभारम्भ गरिएको उक्त कार्यक्रममा आयोजक कमिटाका सदस्य तथा समाजसेवी विजय श्रेष्ठले स्वागत मन्तव्यमा बाल्टिमोरमा नेपालीहरूको सङ्ख्या धेरै भइसकेको हुँदा यहाँ पनि नेपालको सांस्कृतिक पर्व इन्द्रजात्रा गत वर्ष देखिशुरू गरिएको र यो वर्ष पनि उत्साहित सहभागी सम्पूर्ण महानुभावहरू र मुख्य प्रायोजक घिमिरे होम ( कृश घिमिरे) लगायत सम्पूर्ण प्रायोजकहरू र नेवा खाना बनाई सहयोग गर्नु सम्पूर्ण सह्रृदयी महानुभावहरू लाई हार्दिक धन्यवाद दिए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू