अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:४२ | Colorodo: 00:57

शी–विचारधारा विश्वव्यापी बहसको विषय बनेको छ – प्रचण्ड

बिआरटीनेपाल २०७६ असोज ६ गते ८:२४ मा प्रकाशित

सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ले चीनका राष्ट्रपति शी चिनफिङको विचारधारा विश्वव्यापी बहसको विषय बनेको बताउनुभएको छ । सोमवार काठमाडौँमा आयोजित नेकपा र चिनियाँ कम्युनिस्ट पार्टी (सीसीपी)बीचको वैचारिक अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले चिनियाँ चरित्रको समाजवाद निर्माणका लागि शी–विचारधारा महत्वपूर्ण भएको दाबी गर्नुभयो ।

“शी–विचारधारा विश्वव्यापी बहसको विषय बनेको छ,’ प्रचण्डले भन्नुभयोे, ’चीनको सरकारले जनताको सेवा गरेर शासनमा बस्ने वैधता पाएको छ । शासनमा बस्नेहरू विस्तारै जनताको सेवा गर्नुभन्दा सुख सुविधामा लागेमा कम्युनिस्टहरूको शासन गर्ने वैधता समाप्त हुन्छ ।” नेपालले एक चीन नीतिको शब्दमा मात्र नभएर व्यवहारमै कार्यान्वयन गरिरहेको प्रचण्डको भनाई छ ।

’एक चीन नीति शब्दमा मात्र नभएर व्यवहारमा पनि हामीले कार्यान्वयन गरिरहेका छौं,’ प्रचण्डले भन्नुभयो । प्रचण्डले आफू प्रधानमन्त्री भएका बेलामा बीआरआईमा हस्ताक्षर भएको स्मरण समेत गर्नुभएको छ । ’नेपालका लागि पूर्वाधार विकासको अपरिहार्य आवश्यकता बीआरआई हो,’ उहाँले भन्नुभयोे, ’म आफैं प्रधानमन्त्री रहेको बेला बीआरआईमा हस्ताक्षर भएको हो । दुई देशको सम्बन्ध अहिले नयाँ उचाईमा पुगेको छ ।’

अध्यक्ष प्रचण्डले चीनका तर्फबाट छिटै ऐतिहासिक र उच्चस्तरीय भ्रमण हुने विश्वास समेत ब्यक्त गर्नुभएको छ । राजधानीमा चलिरहेको दुईदिने अन्तरसंवाद कार्यक्रमबाट दुवै देशले एक अर्काको अनुभवबाट सिक्ने र आ–आफ्नो विशेषता अनुसारको समाजवादका कार्यक्रमहरू लागू गर्न सहयोग गर्ने अपेक्षा आफूले लिएको प्रचण्डको भनाई थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू